काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेको नाफामा ४२० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४२० प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा झरेको छ। जसका कारण बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.९२ गुणा रहेको छ । असोज मसान्तसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ ।
२३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.७९ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १.६८ प्रतिशत र कर्जा तथा सापटी ३.११ प्रतिशत बढेको छ ।