
दैनिकजसो कारोबार गर्ने अवस्था नभए पनि केही वर्षअघिसम्म मेला महोत्सवमा भने यी भाडाँप्रति गज्जबको आकर्षण देखिन्थ्यो । अचेल भने मेला महोत्सवमा पनि माटाका भाँडावर्तन देखिँदैनन् । पोखराको प्राचीन मेला ढुङ्गेसाँघुमा पनि यसपालि यस्ता भाँडाकुँडा देखिएनन् । कुनैबेला माघेसङ्क्रान्तिको अघिल्लो दिन डोका भरी माटाका भाँडा बोकेर मेलाको नजिक बास बस्न आउने कुमालेहरूको भीड नै देखिन्थ्यो । बजारभरि माटाका सामान देखिन्थे । स्थानीय ९६ वर्षीय चन्द्रकान्त भण्डारी यसपालि ढुङ्गेसाँघु मेलामा माटाका भाँडा नदेखिएको बताउछन् ।
उनका अनुसार बजारमा नपाइए पनि माटाका सामान चाहनेहरूले वर्ष दिनमा लाग्ने ढुङ्गेसाँघुको मेलामा भने अवश्य पाउँथे । भण्डारीले यस्तै मेलामा किनेको हाँडीमा भुटेको मकैको स्वाद अहिले पनि बिर्सिएका छैनन् । ‘हाँडीमा भुटेको मकैमात्र होइन, गर्मीयाममा माटाको घैँटोमा राखेको चिसो पानी खाँदा शरीर नै शीतल हुने गथ्र्यो । कास्कीको पोल्याङटार, भण्डारढिक, रिट्ठेपानीलगायत विभिन्न स्थानमा रहेका कुमालगाउँमा बनाइने यस्ता सामान सजिलै पाइथे । आजभोलि भने समस्या छ’, उनले भने ।
माटाका परम्परागत सामग्री हाँडी, घैँटो, पाला, चिलिम, खुत्रु्रके, गमलालगायत सामानको विकल्पमा प्लाष्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै गएपछि कुमालको पेसा लोप हुने अवस्था आएको हो । हिन्दू धर्मावलम्वीको मृत्यु संस्कारमा आवश्यक पर्ने हाँडी, विभिन्न पूजापाठमा आवश्यक पर्ने पालालगायत माटाका भाँडा पाउन कठिन बन्दै गएको ज्येष्ठ नागरिक भण्डारीले बताए । ‘प्लाष्टिक, स्टिल र फलामका सामानको प्रयोग बढेको छ । सेती नदीमाथि ढुङ्गा र माटोबाट बनेको प्राकृतिक पुल ढुङ्गेसाँघुमा दुई सय वर्षभन्दा अघिदेखि मेला लाग्दै आएको किंवदन्ती छ । सोही अवधिदेखि मेलामा निरन्तर माटाका भाँडाको राम्रो व्यापार हुने गरेको थियो । अचेल भने त्यहाँ पनि यस्ता भाँडाकुँडा देखिन छाडेका छन्,’ उनले भने । मेला व्यवस्थापन समितिका संयोजक एवं सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीका अनुसार विगतका वर्षमा व्यापारीहरु आउने गरे पनि यसवर्ष बजारमा माटाका भाँडा देखिएनन् ।
वर्षौंदेखि गर्दैै आएको पेसा संकटमा पर्न थालेपछि कतिपय कुमाल समुदायका युवा विदेशिने र माटाका भाँडा बनाउने सीप भएका अग्रजहरू अन्य काम गर्न बाध्य भएको जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल बताउँछिन् । उनले यो पेसा संरक्षणका लागि सरकारी तवरबाट पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण समस्या भएको बताइन् । ‘सुपथ मूल्य र प्लाष्टिकका सामग्री गाउँगाउँमा पुग्न थालेपछि कुमाल जातिको पेसा लोप हुने अवस्थामा पुगेको छ’, उपप्रमुख कुमालले भनिन्, ‘प्लाष्टिक र स्टिलका समानको तुलनामा बढी मूल्य पर्ने र फुटेपछि पुनःप्रयोग नहुने भए पनि स्वास्थ्यका लागि लाभदायक मानिने माटोका भाँडा उत्पादन र प्रयोगको वातावरण बनाउन तीनै तहका सहकार जिम्मेवार बन्नुपर्छ ।’
गण्डकी प्रदेश सरकारले स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले यो पेसा संरक्षणका लागि काम नगरेको होइन । गोर्खाको सिरानचोक गाउँपालिका वडा नंं ४ स्थित छाप्राकको कुमाल बस्तीमा रु ६५ लाखको लागतमा सामूहिक माटाका भाँडा बनाउने कार्यक्रम सञ्चालन भइरहेको छ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्न आवश्यक रहेको स्थानीय तोपबहादुर कुमालको भनाइ छ । ‘सरकारले तालिमसहित माटो मुछ्ने मेसिन उपलव्ध गराएको छ । हाल माटोका गमला बनाएर बिक्री गर्दै आएका छौँ । हाँडी र घैँटोको माग अत्यधिक आए पनि तालिमको अभावमा उत्पादन गर्न सकिएको छैन । यसमा पनि ध्यान दिन आवश्यक छ’, उनले भने । पोखरा महानगरपालिका–१७ महतगौडा सीतापाइलास्थित हरिहर मन्दिर परिसरमा प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिन ढुङ्गेसाँघु मेला लाग्दै छ । यस वर्ष मेलामा एक सय ३० वटा स्टल राखिए पनि माटाका भाँडाका स्टल भने एउटा पनि थिएन ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि