काठमाडौं । जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीलाई नेताको गोजीबाट पद बाँड्ने निरिह संगठन बनाउन नहुने बताएका छन् । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा उनले पार्टीलाई बैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र सङ्घर्षमा जुझारु बनाउनु पर्ने बताए । ‘पार्टीलाई उपेन्द्र यादवले जस्तो महाधिवेशनको नामको निरिह प्राणीहरूको भेला गरी आफ्नो गोजीबाट पद बाँड्ने निरिह सङ्गठन बनाउनु हुँदैन,’ उनले भने । श्रेष्ठले पार्टीमा रामायणको प्रसङ्ग स्मरण गर्दै पार्टीमा रामजस्तो चमत्कारिक नेता र मुच्र्छित लक्ष्मणलाई बचाउन सञ्जीवनी बुटी खोज्न जाँदा सिङ्गो द्रोणाञ्चल पर्वत नै बोकेर ल्याउन सक्ने हनुमान जस्तो कार्यकर्ता नहुने बताए ।
उनले पार्टी भनेको विचार र सङ्गठनको द्वन्द्वात्मक सम्बन्ध भएको बताउँदै विचार मस्तिष्क, सङगठन अस्थिपञ्जर र गतिशीलता शरीरमा रगत, मासु भर्ने काम भएको बताए । उनले गतिशील र जुझारु सङ्गठन बनाउन जोड दिए । पार्टी स्कूल तथा प्रशिक्षण विभाग पमुख तथा उपाध्यक्ष रणध्वज कन्दङ्वाले प्रशिक्षणको कामको महत्वलाई बताउँदै यसले सबै तहमा योग्य कार्यकर्ता निर्माण गर्न मद्दत गर्ने बताए ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि सङ्घीय परिषद अध्यक्ष श्रेष्ठले नेपाली समाज परिवर्तनको बाटो सङ्घीय समाजवाद, उपाध्यक्ष रणध्वज कन्दङ्वाले पाार्टीको सङ्गठनात्मक सिद्वान्त र कार्यपद्धति र आङ्काजी शेर्पाले पहिचानका आन्दोलन र आदिवासीको सवालबारे प्रशिक्षण दिएका थिए । दोस्रो दिन पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले पार्टीका आदर्श सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद, उपाध्यक्ष सुशीला श्रेष्ठले पार्टी निर्माणमा जवसको भूमिका र पार्टीसँगको अन्तरसम्बन्ध तथा पार्टीका केन्द्रीय विज्ञ परिषदका अध्यक्ष डा पुस्पराज राजकर्णिकारले सङ्घीय समाजवादी अर्थतन्त्र र वित्तीय सङ्घीयताको प्रारूपबारे प्रशिक्षण प्रशिक्षण दिएका छन् ।