साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

मिना । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुंगा प्रहार’ गरिरहेका थिए । बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने ।

छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए । यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुंगा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ ।

‘मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामीभित्र प्रवेश गर्‍यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुंगा हान्ने काम पूरा गर्‍यौँ”, इजिप्टका ३४ वर्षीय वाएल अहमद अब्देल कादरले बिहानै अनुष्ठान गरेपछि भने । गिनीकी तीर्थयात्री होवाकिताले मक्कामा ईद मनाउने सम्भावनाले उनलाई खुशीले भरिदिएको बताए । ‘जब मैले ढुङ्गा हानेँ मैले सहज महसुस गरेँ । मलाई साँच्चै गर्व लाग्यो’, उनले भने । एक दिनअघि तीर्थयात्रीहरू मक्का नजिकैको ७० मिटर (२३० फिट) अग्लो चट्टानी उचाइमा प्रार्थना गर्दै र कुरानका पदहरू पढ्दै अराफात पर्वतमा भेला भएका थिए । अराफात पर्वतमा पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिएका थिए भन्ने विश्वास गरिन्छ ।

धेरैले तीव्र गर्मी भए पनि पर्वतमा आरोहण गरे । यद्यपि तीर्थयात्रीहरूलाई स्थानीय समयानुसार बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म भित्र बस्न भनिएको आधिकारिक चेतावनीपछि दिउँसोमा सङ्ख्या घटेको थियो । यस वर्षको हजमा अधिकारीहरूले अवैध तीर्थयात्रीहरूमाथि व्यापक कारबाहीका साथसाथै गर्मी कम गर्ने प्रयासहरू कार्यान्वयन गरेको देखियो । जसको परिणाम स्वरूप मक्का र वरपरका पवित्र स्थलहरूमा उल्लेखनीय रूपमा पातलो भीड र भारी सुरक्षा उपस्थिति थियो ।

गत वर्षको हजको घातक पुनरावृत्ति रोक्ने उद्देश्यले यी उपायहरू अपनाइएको थियो । गत वर्ष ५१ दशमलव आठ डिग्री सेल्सियस (एक सय २५ डिग्री फरेनहाइट) तापक्रममा एक हजार तीन सय एक जनाको मृत्यु भएको थियो । साउदी अधिकारीहरूका अनुसार ती मृत्युमध्ये अधिकांश ती तीर्थयात्रीहरूका थिए जो अवैध रूपमा मक्कामा छिरेका थिए र तीर्थयात्रीहरूलाई सुरक्षित राख्न र मरुभूमिको तीव्र गर्मीबाट जोगाउने उद्देश्यले गरिएको आवास र अन्य सेवाहरूको पहुँच नभएका थिए ।

यो हज सिजनले २०२०–२०२२ को कोभिड प्रतिबन्धका वर्षहरूबाहेक तीन दशकभन्दा बढीमा सबैभन्दा कम तीर्थयात्रीहरूको सङ्ख्या रेकर्ड गरेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष १८ लाख मुस्लिमले हजमा भाग लिएका थिए । हज अनुमतिहरू देशहरूलाई कोटाको आधारमा बाँडफाँट गरिन्छ र लटरी प्रणालीद्वारा व्यक्तिहरूलाई वितरण गरिन्छ ।

तर, जसले अनुमति प्राप्त गरेको हुन्छ, तीमध्ये केही मानिस उच्च लागतका कारण बिना अनुमति हज यात्राका लागि प्रेरित हुन्छन् । यद्यपि समातिएमा गिरफ्तारी र निर्वासनको जोखिम उठाउँछन् । मिना उपत्यकामा ढुंगा हान्ने अनुष्ठान सन् २०१५ मा घातक भागदौडको दृश्य थियो । सबैभन्दा घातक हज प्रकोपमध्ये त्यसबेला भएको घटनामा दुई हजार तीन सय जनाको मृत्यु भएको थियो ।

साउदी अरबले हज र वर्षका अन्य समयमा गरिने सानो तीर्थयात्रा उमराहबाट बर्सेनि अर्बौं डलर कमाउँछ । मक्का र मदिनाका दुई पवित्र मस्जिदका संरक्षकका रूपमा चिनिने साउदी राजाका लागि पनि तीर्थयात्रा प्रतिष्ठाको स्रोत हो । हजको अन्त्य ईद अल–अधाको सुरुआतसँग मिल्छ । ईद अल–अधा सामान्यतया बाख्रा, भेडा, गाई, गोरु वा ऊँट जस्ता जनावरको वधद्वारा मनाइने वार्षिक भोजको बिदा हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार