
सिरहा । महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन ।
महिला कैदीबन्दीका लागि छुट्टै संरचना नहुनु, बनाइएको भवनमा आवश्यक संरचना नपुगेको र वर्तमान कारागारको भीडभाडले यो समस्या थप जटिल बनाएको कारागार प्रशासक सुवोधकुमार महतोले बताए । उनका अनुसार महिला कैदी तथा बन्दीलाई राख्नका लागि छुट्टै प्रकारको कारागार छैन । महिना दिनअघिबाट यहाँका महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । महिला कैदीका लागि छुट्टै आवासीय भवन, पर्याप्त र सुरक्षित शौचालय तथा स्नान गृह, शिशुसहितका महिलाका लागि बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने सुविधा आवश्यक मानिन्छ ।
अधुरो भवन, अपूरो योजना
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत करिब रु ६० लाखको लागतमा महिला कैदीबन्दीका लागि भनेर एक नयाँ भवन निर्माण थालिएको भए पनि हालसम्म त्यो अधुरो छ । झन् त्यस भवनमा महिलामैत्री आवश्यक संरचना पनि छैन । कारागार प्रशासक महतोले भने, “कम्पाउन्ड वाल, खानेपानीको सुविधा, शौचालय, सेफ्टीट्याङ्की, सेन्ट्री पोस्ट, भेटघाट कक्ष यति नहुँदासम्म उक्त भवन प्रयोगविहीन हुन्छ ।”
झन् चिन्ताको विषय त उक्त भवनमा प्रयोग गरिएको झ्याल सिसाको हो, जुन सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण मानिन्छ । महतो भन्छन्, “त्यहीँ सिसा फुटाएर अवाञ्छित क्रियाकलाप हुने तथा विभिन्न घटना घटाउन सक्ने सम्भावना हुन्छ । किन र कसरी त्यो प्रयोग गरियो, म अनभिज्ञ छु । म यहाँ प्रमुख बनेर आएको डेढ महिनामात्र भएको छ ।”
जीर्ण संरचना र क्षमताभन्दा बढी कैदी
सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो, जुन आजसम्म स्तरोन्नति गरिएको छैन । पुरानो संरचना, अपुग सुविधा र कैदीबन्दीको अत्यधिक सङ्ख्याले स्थिति अझ भयावह बनाएको छ । यो कारागारको क्षमता एक सय ५० जनाको मात्र भए पनि हाल यहाँ चार सय ४२ जना कैदीबन्दी राखिएको छ । साउन ४ गते कारागारभित्रै आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । हाल उनीहरूको काठमाडौँमा उपचार भइरहेको कारागार प्रशासक महतोले जानकारी दिए ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द