
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न थालेका हुन् ।
“अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उनले भने, “गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।” सुनारले दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गर्नुभएको छ । “माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उनले भने “किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए ।
पछिल्लो समय तरकारीखेती, बगरखेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए । “सुरुआतमा करिब रु चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उनले भने, “एक महिनामा मात्र रु एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु सात लाखसम्म आम्दानी हुन्छ ।” सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो रु २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उनले भने, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।”
गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ । पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रूपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी मानिएको छ ।













समाचार
विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
कर्णाली प्रदेशको विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन यान्त्रिक क्रेन उपलब्ध गराइने
सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति