
गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ । उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।
प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ । खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिए । आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उनले बताए । कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको चौधरीले बताए ।
यसअघि बुटवलमा रहेको सबस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटकपटक सेवा अवरुद्ध हुने गरेको थियो । नयाँ प्रसारणलाइन र सवस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ ।













समाचार
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा