काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालैका दिनहरूमा इरानको आणविक र क्षेप्यास्त्र उत्पादन क्षमता पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन् । जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा उनले बताएअनुसार, अमेरिका–इजरायलको संयुक्त सैन्य अभियान सुरु भएको करिब २० दिनभित्र इरानको मुख्य सैन्य तथा आणविक संरचना गम्भीर रूपमा कमजोर भएको छ। नेतन्याहुका अनुसार इरान अब युरेनियम समृद्धि गर्न वा ब्यालिस्टिक मिसाइल निर्माण गर्न असमर्थ छ।
उक्त दाबीको केही घण्टापछि इरानले इजरायलतर्फ मिसाइल आक्रमण गरेको टाइम्स अई इजरायलले जनाएको छ । जसका कारण राजधानीसहित देशका विभिन्न भागमा साइरन बजेको थियो। इरानले गत महिनादेखि अमेरिका र इजरायलद्वारा भइरहेको हवाई आक्रमणको प्रतिकार स्वरूप ड्रोन तथा मिसाइल आक्रमण तीव्र पारेको छ। यसले हालको द्वन्द्वलाई अझ जटिल बनाएको छ।
नेतन्याहुका अनुसार इरानको नेतृत्व संकटमा छ। सर्वोच्च नेता अली खामेनेईको हत्या भइसकेपछि नयाँ नेता मोजतबा खामेनेई सार्वजनिक रूपमा देखा परेका छैनन्, र शीर्ष नेतृत्वबीच तनाव बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ इरानी नेताको अवस्थाबारे अनिश्चितता देखाएका छन्। यसैबीच, इरानको सरकारी मिडियाले मोजतबा खामेनेई आक्रमणमा घाइते भएको जानकारी दिएका छन्।
नेतन्याहुले इजरायलले इरानमा शासन परिवर्तनका लागि अनुकूल वातावरण सिर्जना गरिरहेको बताए। उनका अनुसार, अन्ततः निर्णय इरानी जनताकै हातमा हुनेछ। उनले इरानको शासन कमजोर बन्दै गएको र केही सैन्य इकाइहरूमा विभाजन देखिएको पनि दाबी गरे। यद्यपि, केवल हवाई आक्रमण पर्याप्त नहुने भएकाले आवश्यक परे स्थल (ग्राउन्ड) अपरेशन पनि हुन सक्ने संकेत उनले दिएका छन्।
अमेरिका–इजरायलको समन्वयबारे पनि विवाद देखिएको छ। नेतन्याहुका अनुसार इरानको ग्यास क्षेत्रमा भएको आक्रमण इजरायलले एक्लै गरेको हो, जबकि डोनाल्ड ट्रम्पले भविष्यमा यस्ता आक्रमण नगर्न निर्देशन दिएका छन्। अमेरिकी स्रोतहरूले भने उक्त आक्रमण पूर्वसमन्वयमै भएको दाबी गरेका छन्। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले उक्त आक्रमणलाई “चेतावनी”का रूपमा व्याख्या गरेका छन्।
क्षेत्रीय असर गम्भीर बनेको छ। इजरायली आक्रमणपछि इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा मिसाइल प्रहार गरेको छ। कतारमा ग्यास संरचनामा क्षति पुगेको छ भने साउदी अरबतर्फ गइरहेका ड्रोनहरू रोकिएको छ। इरानले हर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढाएको छ।
यसको समाधानका रूपमा नेतन्याहुले वैकल्पिक ऊर्जा मार्गको प्रस्ताव राखेका छन्। उनले भने, हर्मुजजस्ता संवेदनशील मार्गहरूको सट्टा अरब प्रायद्वीप हुँदै इजरायलसम्म तेल र ग्यास पाइपलाइन विस्तार गर्न सकिन्छ, जसले भविष्यमा ऊर्जा आपूर्ति सुरक्षित बनाउनेछ।