काठमाडौं । देव खनालको अर्धशतकमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई एक दिवसीय सिरिजको पहिलो खेलमा ४५ रनले हराएको छ । जितको लागि २ सय ७८ रनको विजय लक्ष्य पछाएको स्कटल्यान्ड ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३२ रनमा समेटियो। ओपनर मार्क वाट र फिन्ले म्याकक्रेथले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे।
यो साझेदारीलाई साहब अलामले तोडे। ३७ रन बनाएका मार्क आउट भए। अर्धशतक बनाएका फिन्ले विपिन खत्रीको बलमा बोल्ड आउट भए। उनले ५२ रन बनाएका थिए। यसपछि स्कटल्यान्डले लगातार २ विकेट गुमायो। ब्रान्डन म्याक मलेन २१ रनमा र कप्तान रिची बेरिङ्गटन ३ रन जोडेर पबिलियन फर्कदा स्कटल्यान्डले ४ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो।
ज्याक जार्भिस र ओलिभर डेबिडसनले आठौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै केहि आश देखाएपनि ४५ रन जोडेर ज्याक आउट भएसँगै स्कटल्यान्ड हार नजिक पुग्यो। ओलिभर पनि १७ रनमा आउट भए। यो सँगै स्कटल्यान्ड २ सय ३० रनमा समेटियो। बलिङमा नेपाल ‘ए’ साहब आलाम, युवराज खत्री, बसिर अहमद र रसिद खानले समान २ विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७७ रन बनायो। ओपनर मयान तादव र कप्तान अनिल साहले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरे। अनिल १८ रनमा आउट भए। मयान ८६ बल खेल्दै ५ चौका र १ छक्का सहित ४५ रन बनाएर पबिलियन फर्किए। २ ओपनरलाई गुमाउँदा नेपालले २३.१ ओभरमा ८३ रन जोडेको थियो।
त्यसपछि देव खनाल र सन्दीप जोराले तेस्रो विकेटको लागि ७७ रनको साझेदारी गरे। सन्दीप ३४ रनमा ओलिभर डेबुटसनद्वारा कट एण्ड बोल्ड भए। लगतै कुशल मल्ल पनि ३ रनमा आउट हुन पुगे। क्रिजमा टिकेका देवले अर्धशतक बनाए। उनले ६५ बल खेल्दै ६ चौका र १ छक्का सहित नेपालको लागि सर्वाधिक ६३ रनको पारी खेले। पवन सराफले ३१ रन जोड्दा दीपक डुम्रे अविजित १५ रनमा रहे। बलिङमा ब्राड क्युरी र सापयान सरिफले २/२ विकेट लिए।
अर्को साता सुरु हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड र अमेरिका नेपाल भ्रमणमा छन् । लिग टुमा अमेरिका शीर्ष र स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल ‘ए’ ले भोलि अमेरिकासँग खेल्नेछ।