
दाङ । घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए ।
उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ । यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।यो जलाशय निर्माण भएपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिए । उनले भने, “पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । १५० घरका सबैले खेती गरेका छौँ ।” आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उनले बताए ।
घोराही-१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको भए । उनले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि पेसा गर्दै आएका हुन् । आफ्नो एक बिघा र भाडामा लिएको छ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । चौधरीले व्यावसायिक तरकारीखेती गर्न थालेको पाँच वर्ष भएको जानकारी दिए ।
पछिल्लो समय एकयाममा तरकारी बिक्री गरेर ९० हजारदेखि एक लाखसम्म आम्दानी भइरहेको उनले बताए । “पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहुँच पुग्यो र खेती सुरु भयो”, उनले भने ।
सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भटिए । उनका खेतमा धनिया, लौका, करेला, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उनी तरकारी बारीमा भेटिन्छन् । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए ।
पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गरे । “तरकारीखेती गरेपछि घरमा खान भएको छ, बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ”, उनले भने ।
ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताए । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ ।
कर्जाही गाउँबाट दैनिक ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिए । उनका अनुसार गाउँका २५० परिवारको १०० बिघा जमिनमा सिँचाइ पुगेको छ । अध्यक्ष चौधरीले भने, “अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।” खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतवारीमा व्यस्त रहने गरेको उनको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको चौधरीले बताए ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता