झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु

काठमाडौं । झापा इनर्जी लिमिटेडको सौर्य विद्युत उत्पादन पुनः सुचारु भएको छ। गत जेठमा इन्भर्टरमा आगलागी भएपछि अवरुद्ध भएको ५ मेगावाट विद्युत उत्पादन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको हो।

कम्पनीले झापाको शिवसताक्षी ४ मा निर्माण गरी सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनामा जडित दुईवटा ५ एमभीए क्षमताका इन्भर्टरमध्ये एउटा इन्भर्टरमा गत जेठ १८ गते आगलागी भएको थियो।

दिउँसो १ बजेर ४२ मिनेटमा भएको आगलागीका कारण उक्त इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो। आगलागीबाट क्षति पुगेको इन्भर्टरको आवश्यक मर्मतसम्भार सम्पन्न भएपछि आयोजनाको विद्युत उत्पादन पूर्ण क्षमतामा फर्किएको कम्पनीले जनाएको छ।

मर्मतसम्भार कार्य सम्पन्न भएसँगै आयोजनाबाट अहिले पूर्ण १० मेगावाट क्षमतामा विद्युत उत्पादन भइरहेको छ। यससँगै आगलागीका कारण करिब केही समयदेखि घटेको आयोजनाको उत्पादन क्षमता पुनः सामान्य अवस्थामा आएको छ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट