भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह

काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दुःख व्यक्त गरेको छ ।

बाढीले मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको इप्पानले जनाएको छ । बाढीबाट प्रभावित तथा बेपत्ता नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत आयोजनामा कार्यरत कामदारको उद्धार कार्य जारी रहेकाले तत्काल उद्धारलाई प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग इप्पानले आग्रह गरेको छ ।

इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा क्षति पुगेको छ । नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायतमा क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

रसुवामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच आयोजना र निर्माणाधीन करिब ३४२.४२ मेगावाटका तीन आयोजनामा क्षति भएको अनुमान गरिएको छ । यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाटका चार आयोजना र निर्माणाधीन करिब ५२.६ मेगावाटका दुई आयोजनामा पनि क्षति पुगेको इप्पानले जनाएको छ ।

विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेपछि भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नभएका कतिपय आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन् ।

इप्पानले प्रभावित आयोजनामा कार्यरत कामदार, कर्मचारी तथा प्राविधिकको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै आयोजना प्रवद्र्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति र उपकरण उद्धार तथा राहतमा परिचालन गर्न अनुरोध गरेको छ ।

बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना तथा प्रसारण संरचनाको शीघ्र क्षति मूल्यांकन गरी पुनर्निर्माण र राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन पनि इप्पानले सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागसँग आग्रह गरेको छ ।

आयोजनाको पुनर्निर्माणका लागि नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण र प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण आवश्यक रहेको इप्पानको भनाइ छ ।

इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा अभिलेखीकरण गर्ने जनाएको छ । साथै तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएको छ ।

बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै इप्पानले शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ता नागरिक र कामदारको शीघ्र सकुशल उद्धारको कामना गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट