
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताका जल्दाबल्दा समस्यामा परिणाममुखी काम गरेर देखाउन चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचारजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।
उनले सरकारको सुशासनको प्रतिबद्धता नारामै सीमित भएको बताए। निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र रहेको तथा सरकारी विद्यालयको गुणस्तर खस्किँदै गएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको बेथितिप्रति सरकार र संसद्को ध्यानाकर्षण गराए।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीप्रति प्रश्न उठाउँदै राईले दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिए। भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चाल्ने जुनसुकै कदममा आफ्नो पार्टीले सहयोग गर्ने उनले स्पष्ट पारे।
राईले गिरिबन्धु टी–स्टेट र वाइडबडी प्रकरणको उदाहरण दिँदै सरकारलाई प्रश्न गरे। उनले भने, ‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’
फ्रि भिसा र फ्रि टिकटको व्यवस्था तथा किसानका समस्यालगायत विषयमा सरकारले टालटुले काम मात्रै गरेको उनको आरोप थियो। उनले आन्दोलनकारीलाई जेल हालेर परिवर्तन नआउने भन्दै सरकारलाई जनताका समस्यामा गम्भीर बन्न आग्रह गरे।
‘जेनजी’ आन्दोलनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै राईले सरकारको नियतमाथि समेत प्रश्न उठाए। संसद् बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कदम नचाल्न सरकारलाई चेतावनी दिँदै उनले आफ्नो दल यस्ता विषयमा पूर्ण रूपमा सतर्क र सजग रहेको बताए।











समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
करदाता प्रोत्साहन उपहार कार्यक्रममा बीजक प्रविष्टि अनिवार्य
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा
जलवायु जोखिम न्यूनीकरणका लागि अन्नपूर्ण आधार शिविरमै गाउँ कार्यपालिकाको बैठक