
दार्जिलिङ – शेर्पा समुदायको एकता, भाषा, संस्कृति, धर्म, इतिहास र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले भारतको दार्जिलिङमा विश्व शेर्पा सम्मेलन २०२६ सुरु भएको छ । अक्टोबर ८ देखि १० सम्म सञ्चालन हुने तीनदिने सम्मेलनमा २५ देशका शेर्पा प्रतिनिधि, समुदायका अगुवा, सांस्कृतिक प्रतिनिधि तथा विशिष्ट अतिथिहरू सहभागी छन् ।
दार्जिलिङस्थित जिमखाना क्लबमा बिहीबार आयोजित उद्घाटन समारोहमा खेनरिन्पोछे साङ्गे राङजुङ प्रमुख अतिथि तथा धर्मगुरुका रूपमा सहभागी थिए । ग्लोबल शेर्पा एसोसिएसनका अध्यक्ष थेन्डुप शेर्पा लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अखिल भारतीय शेर्पा बौद्ध संघका अध्यक्ष दोर्जे शेर्पा पिनासाले स्वागत मन्तव्य दिँदै सम्मेलनको उद्देश्य र महत्त्वबारे जानकारी दिए । उनले शेर्पा समुदायको भाषा, संस्कृति, इतिहास, धर्म तथा सम्पदाको संरक्षण गर्दै विश्वभर रहेका शेर्पाहरूबीच एकता र सहकार्य अभिवृद्धि गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उद्घाटन समारोहको विशेष आकर्षणका रूपमा खेनरिन्पोछे साङ्गे राङजुङ रिन्पोछेलाई ‘शेर्पा रत्न पुरस्कार २०२६’ प्रदान गरिएको छ । बौद्ध शिक्षाको संरक्षण, प्रवद्र्धन तथा प्रसार र आध्यात्मिक मूल्यहरूको विकासमा पु¥याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालका रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीका कारण ज्यान गुमाएकाहरूको स्मृतिमा विशेष प्रार्थना पनि गरिएको थियो । बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै बेपत्ता भएकाहरूको उद्धार तथा शान्तिका लागि प्रार्थना गरिएको आयोजकले जनाएको छ ।
दीप प्रज्वलन, ताशी ग्येपा प्रार्थना र विभिन्न देशका राष्ट्रिय झण्डासहितको सांकेतिक परेडले उद्घाटन समारोहलाई विशेष बनाएको थियो । यसै अवसरमा शेर्पा समुदायको इतिहास, संस्कृति, परम्परा र पहिचान समेटिएको ‘शेर्पा हेरिटेज’ पुस्तकसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा परम्परागत शेर्पा सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।

धर्मगुरु खेनरिन्पोछे साङ्गे राङजुङले धर्मदेशना दिँदै करुणा, बौद्ध मूल्य–मान्यता, आध्यात्मिक साधना तथा भावी पुस्ताका लागि सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणको महत्त्वमाथि जोड दिए । त्यस्तै खेन्पो ङवाङ होसेर, खेन्पो पेमछिरीलगायतका धर्मगुरुको पनि कार्यक्रममा उपस्थिति रहेको छ ।
कार्यक्रममा भारतका विभिन्न स्थानबाट आएका शेर्पा कलाकारहरूले परम्परागत शेब्रु नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा नेपालको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकार, गायिका पाल्मो शेर्पा तथा गायक छुङ्बा शेर्पालगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
नेपालबाट नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा थिलेन शेर्पा, सल्लाहकार लाक्पाफुटी शेर्पा, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । त्यसैगरी ग्लोबल शेर्पा संघका पूर्वअध्यक्ष एडी लामा शेर्पा, पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल शेर्पा महिला संघकी अध्यक्ष ठाक्ची शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका उपाध्यक्ष बहादुर शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष डेभिड शेर्पा, शेर्पा पत्रकार संघका अध्यक्ष कर्मा शेर्पा, शेर्पा कलाकार संघकी अध्यक्ष पाल्मो शेर्पा तथा शेर्पा सञ्चार समूह नेपालकी सदस्य ग्रिष्मा शेर्पाको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष ङिमा नुरु शेर्पा, नेपाल शेर्पा युवा संघका अध्यक्ष जाङ्बु शेर्पालगायत विभिन्न किदुक तथा संघसंस्थाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।

अखिल भारतीय शेर्पा बौद्ध संघको आयोजनामा ग्लोबल शेर्पा एसोसिएसनको सहकार्यमा भइरहेको सम्मेलन दार्जिलिङ, सोनादा र लाभामा सञ्चालन हुनेछ । तीनदिने सम्मेलनले विश्वभरका शेर्पा समुदायबीच संवाद, सांस्कृतिक आदानप्रदान र आपसी सम्बन्ध विस्तार गर्दै साझा पहिचान तथा सम्पदाको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
‘एक समुदाय, एक दृष्टिकोण’ भन्ने मूल भावनासहित आयोजित सम्मेलनले विश्वभर छरिएर रहेका शेर्पाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य राखेको छ ।












समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना