रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

रूपन्देही। जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म बन्द गर्ने क्रम चालु आवमा पनि जारी छ । आव २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।

कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य रहे पनि पुराना उद्योग तथा व्यवसाय बन्द हुनु निजी क्षेत्रको व्यावसायिक अवस्थाबारे चासोको विषय बनेको छ ।

आव २०८२/८३ सम्म रूपन्देहीमा २० हजार पाँचवटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन तथा बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।

उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आवमा रु दुई करोड ६० लाख तीन हजार ४८१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी परियारले जानकारी दिए। उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आवमा पनि १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न सूचना आह्वान गरिएको उनले बताए । जिल्लामा उद्योग तथा व्यवसाय बन्द हुनुका पछाडि कारोबारमा कमी, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रतिको असन्तुष्टिलगायतका समस्या रहेको व्यवसायीले बताएका छन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेको अवस्थामा लगत कट्टा गर्ने गरेका छन् भने केहीले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ ।

भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ । उद्योग तथा व्यावसायिक फर्मको दर्ता सङ्ख्याले उद्यमशीलताप्रतिको आकर्षण देखाए पनि बन्द हुने फर्मको सङ्ख्याले व्यवसायलाई निरन्तरता दिनुपर्ने चुनौतीसमेत उजागर गरेको छ । नयाँ उद्यम स्थापना गर्न प्रोत्साहन गर्नुका साथै सञ्चालनमा रहेका उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीको वातावरण सुधार गर्न सके स्थानीय उत्पादन, रोजगारी सृजना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर