
आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट २०२७ को खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने प्रतियोगिता आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा १६ देशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल ४१ खेल हुने तेस्रो संस्करणको विश्वकपका खेल बंगलादेशको चटगाउँ र सिलेट तथा नेपालको काठमाडौंमा आयोजना हुनेछन्।
नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन गरिनेछ। बंगलादेशमा भने चटगाउँस्थित वीर श्रेष्ठ शहीद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशाला र सिलेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछन्।
घरेलु मैदानमा विश्वकप खेल्न लागेको नेपालले जनवरी २२ मा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ। सोही दिन काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई पटकको विजेता भारतले वेस्ट इन्डिजसँग खेल्नेछ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, आयरल्यान्ड, वेस्ट इन्डिज र नेपाल छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन्। समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। यस्तै, समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड रहेका छन्।
विश्वकपको उद्घाटन जनवरी २१ मा हुनेछ। उद्घाटन दिन बंगलादेशले यूएईसँग खेल्दा अस्ट्रेलियाले नाइजेरियाको सामना गर्नेछ। त्यस्तै, काठमाडौंमा श्रीलंकाले स्कटल्यान्ड र इंग्ल्यान्डले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।
समूह चरणका खेल जनवरी २६ सम्म सञ्चालन हुनेछन्। त्यसपछि छनोट भएका टोलीले सुपर सिक्स चरणमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिक्सका दुई समूहबाट उत्कृष्ट दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल फेब्रुअरी ४ मा हुनेछ भने फाइनल फेब्रुअरी ६ मा खेलाइनेछ। फाइनलका लागि फेब्रुअरी ७ लाई वैकल्पिक दिनका रूपमा राखिएको छ।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले यू–१९ विश्वकप युवा खेलाडीका लागि आफ्नो प्रतिभा देखाउँदै राष्ट्रिय टोलीबाट उच्चस्तरको क्रिकेट खेल्ने यात्रामा अघि बढ्ने महत्वपूर्ण मञ्च भएको बताएका छन्।
उनले नेपाल र बंगलादेशलाई आयोजकका रूपमा छनोट गर्नु क्रिकेटको भविष्यमा आईसीसीले गरेको लगानी र विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। दुवै देशमा क्रिकेटप्रति गहिरो लगाव र २० वर्षमुनिको ठूलो युवा जनसंख्या रहेकाले प्रतियोगिता आयोजना गर्न उपयुक्त भएको उनको भनाइ छ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम