आनी छोइङ डोल्माले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्ष

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छन् । नियुक्त भएको करिब एक महिनापछि बुधबार लुम्बिनी पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी हुन् । पदभार ग्रहण गर्नुअघि आनी छोइङ डोल्माले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरेकी थिइन् । उनले आफू लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि जिम्मेवारी लिएर आएको बताएकी छन् ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रसिद्ध गायिका तथा भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल पाँच वर्षको हुनेछ । यद्यपि उनको नियुक्तिलाई लिएर लुम्बिनी बचाउ अभियानले असन्तुष्टि जनाउँदै विरोध गर्दै आएको थियो । नियुक्तिलाई लिएर विवाद भइरहेका बेला उनले पदभार सम्हालेकी हुन् ।

यसैबीच कोषको कोषाध्यक्षमा नियुक्त पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रमेश शेखर बज्राचार्य रहेका छन् । बुधबार नै कोषका नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेयले पनि पदभार ग्रहण गरेका छन् ।

अब नयाँ नेतृत्वसामु लुम्बिनीको समग्र विकाससँगै कपिलवस्तुका सात ऐतिहासिक स्थल, देवदह र रामग्राम स्तूपमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने महत्वपूर्ण जिम्मेवारी रहनेछ । लुम्बिनीलाई विश्व बौद्ध समुदायको प्रमुख आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट