
पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था अपचलन प्रकरणमा दायर प्रतिवादीमाथिको थुनछेक बहसको विषय अदालतमा प्रवेश गरेको छ । जिल्ला सरकारी वकिलले गएको आइतबार जिल्ला अदालत कास्कीमा दायर गरेका थिए । मंगलबार (आज) बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकी आरती गुरुङको बयान लिइएको थियो । न्यायाधीश नितिज राईको इजलासमा बयान सकिएपछि दिउँसोको खाजा समयपश्चात् थुनछेक बहस सुरु भएको हो ।
मंगलबार जिल्ला सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजता पौडेलले बहस गरिन् । उनको बहस सकिएको छ भने अर्की सहन्यायाधिवक्ता शान्तिदेवी शर्माको बहस सुरु भएको हो । उनको बहस भने बुधबार पनि हुनेछ । अभियोगपत्रमा दायर भएको विषयलाई नै समर्थन हुनेगरी सरकारी वकिलहरूले बहस गरेका थिए । सहकारीको मूल्यमान्यता विपरीत संगठित रूपमा अपराध हुने काम गरेको हुँदा अभियोगपत्र अनुसारको बिगो र सजाय हुनुपर्ने तर्क सरकारी वकिलको छ ।
अदालतका स्रेस्तेदार राजन खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित मुद्दा दर्ता भएका सातजनाकै बहस सकिएको छ । बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । बुधबार सरकारी वकिलकै तर्फबाट विपीनराज तिवारी, कमला काफ्लेसहित महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले बहस गर्नेछन् ।
सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाको तर्फबाट बहस हुनेछ । जाहरेवाला तर्फको पनि बहस सकिएपछि प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रास्वपा सांसद सोविता गौतम लगायतले बहस गर्ने तयारी छ । दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि उनीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ कास्की प्रहरीको हिरासतमा छन् ।
विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । यस्तै, यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, चारजनालाई सम्पत्ति शुद्धीकरण र दुईजनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ । सम्पत्ति जफतका लागि रविपत्नी निकिता पौडेलसहित पाँचजनालाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा गएको आइतबार रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।













समाचार
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता
कालीगण्डकीको कटानले जोखिममा पुल
कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो