काठमाडौं । मेट लाइपफ इन्स्योरेन्स वित्तीय सूचकहरुमा बलियो बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, मुनाफा, व्यवसाय तथा ब्याज आम्दानी लगायत सूचकहरुमा सुधार आएको हो ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा १४.८१ प्रतिशतले बृद्धि भएर २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै यो अवधिमा २७ अर्ब ३२ करोड रुपैयाँको जीवन बीमा कोष बनाउन सफल कम्पनीको जगेडा कोषमा दुई अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको छ । वित्तीय विवरणका आधारमा कम्पनीले आफ्नो जीवन बीमा र जगेडा कोषको आकार बृद्धि गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमा व्यवसाय पनि ६.७८ प्रतिशतले बढेर दुई अर्ब ८६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीको लगानी तथा ब्याज आम्दनी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल बीमा दावी भुक्तानी एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।