
झापा । मेचीनगर नगरपालिका–४ का महिला बाँसबाट विभिन्न कलात्मक सामग्री निर्माणमा जुटेका छन् । बाँसको जरा सङ्कलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन् ।
मेचीनगर(४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा सङ्कलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुका कलात्मक सामग्री निर्माण गरेर बित्ने गरेको छ । गाउँघरमा दाउराका रूपमा प्रयोग हुने बाँसको जराबाट हात्ती, चराचुररुङ्गी र विभिन्न सजावटका आकर्षक सामग्री निर्माण हुने उनले बताइन् । तयारी सामग्रीको मूल्य रु एक हजारदेखि निर्धारण गरिएको विष्टले जानकारी दिइन् ।
मेचीनगर–४ ले उनीसहित यस क्षेत्रका ३० जनालाई गत वर्ष हस्तकलासम्बन्धी तीनमहिने तालिम प्रदान गरेपछि अहिले यहाँका महिला बाँसका आकर्षक सामग्री निर्माणमा जुटेका हुन् । महिलाले तयार गरेका सामग्रीको बजारीकरण वडा कार्यालय र जिल्लास्थित डिभिजन वन कार्यालयले गरिदिने वडाध्यक्ष अर्जुन कार्कीले बताए ।
‘खेर गएको बाँस र जराबाट निर्माण गरिएका सामग्रीको बजारीकरण हामी गरिदिने छौँ’, उनले भने, ‘यहाँका महिला यही पेसामार्फत स्वरोजगार बन्दै आत्मनिर्भर बन्न सक्नुहुन्छ ।’ उनले दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि निराश बनेकाहरूका लागि हस्तकला निर्माणसम्बन्धी तालिम आम्दानीको स्रोत हुनेसक्ने बताए ।
बाँसको जराबाट हात्ती, चराचुरुङ्गी, महिलाले प्रयोग गर्ने गरगहना र घरेलु सामग्री निर्माण गर्न सकिने वडाध्यक्ष कार्कीले उल्लेख गरे । उनले वडाले गर्ने हरेक कार्यक्रममा अतिथिलाई ‘मायाको चिनो’ स्वरुप महिलाद्वारा निर्मित हस्तकलाका सामग्री खरिद गरेर वितरण गर्न थालिएको जानकारी दिए।
महिलालाई हस्तकला विज्ञ निर्मल शाक्य र शेखले तीन महिनासम्म प्रशिक्षण दिएको थियो । प्रशिक्षक शाक्यले छोटो समयमा महिलाले सीप सिकेर गुणस्तरीय सामग्री निर्माणमा जुटेका बताए । उनले स्थानीय क्षेत्रमा बाँसको उत्पादन प्रशस्त हुनेहुँदा कच्चा पदार्थको अभाव नहुने बताउँदै स्थानीय सरकारले बजारीकरणमा थप समन्वय गर्नुपर्नेमा जोड दिए ।













समाचार
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर