
काठमाडौं । स्वदेशी वस्तुको निकासी प्रवद्र्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार आयोजना गरेको ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञहरूसँग छलफलमा विज्ञहरूले छुट्टै स्वायत्त प्राधिकरणको आवश्यकता औँल्याएका हुन् ।
पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुलुकमा स्वावलम्बी अर्थतन्त्रका लागि निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने र यसका लागि छुट्टै स्वायत्त संस्थाका रूपमा प्राधिकरण गठन गर्न सकिने गरी विधेयकमा व्यवस्था गर्न सुझाव दिए । “वैदेशिक लगानीका विषयमा ऐनमा स्पष्ट व्यवस्था गरिएको छैन । लगानीका चुनौतीलाई पनि विधेयकमा समेट्न आवश्यक छ”, उनले भने, “नेपालमा उत्पादित वस्तुको गुणस्तर प्रमाणीकरण गर्ने विषयवस्तु ऐनमा समावेश गर्नुपर्छ । यसका साथै आयातित वस्तुको गुणस्तर प्रमाणीकरण गर्न पनि जरुरी छ ।”
अर्का विज्ञ राजेश सिंहले स्वदेशी उत्पादनलाई विश्वबजारमा पुर्याउन र निकासी सहजीकरणका लागि प्राधिकरण गठन गर्न सुझाव दिए । “उद्योग प्रवद्र्धनलाई सहजीकरण गर्नेगरी यो विधेयक ल्याउनुपर्छ । स्वदेशी वस्तुलाई विश्वमा चिनाउनका लागि अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गर्न आवश्यक छ”, उनले भने । पूर्वसचिव शङ्कर पाण्डेले नेपाल आयातमुखी बढी भएको भन्दै आयातभन्दा निर्यात प्रवद्र्धनलाई जोड दिनेगरी विधेयक ल्याउनुपर्ने सुझाव दिए । निकासी बढाउन स्वदेशी उद्योगका लागि लगानीमैत्री वातावरण बनाउनसमेत उनको सुझाव छ ।
समितिका सभापति अब्दुल खाँनले विज्ञलगायत अन्य सरोकार भएकाहरूले दिएका सुझावलाई सम्बोधन गर्न विधेयकमाथि थप छलफल गरिने बताए । सांसद रणेन्द्र बरालीले विधेयकलाई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने धारणा राखे । विदेशी व्यापारलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन, आयातनिर्यात प्रक्रियामा एकरूपता ल्याउनेलयात नियन्त्रण तथा प्रोत्साहनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्ने गरी विधेयकको मस्यौदा तयार गरिएको हो ।
विधेयकमा आयातनिर्यातका लागि सङ्केत नम्बर, निश्चित वस्तु वा सेवामा इजाजतपत्र अनिवार्य वा प्रतिबन्धको व्यवस्था, विशेष अवस्थामा आयातनिर्यातमा रोक वा नियन्त्रण तथा अन्तरराष्ट्रिय प्रदर्शनी, मेला आदिका लागि छुट र सुविधाजस्ता प्रावधान समावेश गरिएका छन् । यस्तै, भन्सार नाकाबाट मात्र आयातनिर्यात गर्नुपर्ने स्पष्टता, विशेष उद्योग र वस्तुका लागि प्रोत्साहन र सुविधा, निर्यात प्रवद्र्धन कोष गठन, विदेशी कम्पनीले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने व्यवस्थाजस्ता प्रावधान विधेयकमा समेटिएका छन् ।
मस्यौदा विधेयकमा विदेशी व्यापारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने, आयातनिर्यातसम्बन्धी कानुनलाई अद्यावधिक, संशोधन र एकीकरण गर्ने तथा राजस्व, उद्योग, व्यापार र आपूर्ति क्षेत्रमा प्रतिस्पर्धा, सुरक्षा र सुविधा बढाउने लक्ष्य राखिएको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द