
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ।
त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ।
उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौंमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ । आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ।
ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ। ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ।
अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय