महावीर पुनकाे सम्पत्ति विवरण: ३ तोला सुन,बैंकमा २५ लाख

काठमाडौं । म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग बैंकमा जम्मा करिब २९ लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन्। जसअनुसार नेपाल बैंक लिमिटेडमा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा करिब २५ लाख रुपैयाँ रहेको जनाइएको छ।

उनका अनुसार नेपाल बैंकमा रहेको रकम साथीहरूको सहयोगबाट प्राप्त भएको हो भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधि सभा निर्वाचनका क्रममा प्राप्त सहयोगबाट बचेको हो। उक्त रकम म्याग्दीको बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा प्रयोग गर्ने उनले बताएका छन्।

पुनले आफूसँग करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुन २०६० सालतिर खरिद गरी श्रीमतीलाई उपहार दिएको विवरणमा उल्लेख छ। जग्गातर्फ उनले कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार स्थानमा गरी करिब २८ रोपनी जग्गा रहेको बताएका छन्। उक्त जग्गा २०५२ सालमा करिब ४ लाख रुपैयाँमा खरिद गरिएको र त्यसको स्रोत विदेश (अमेरिका)बाट फर्किँदा बचत भएको रकम रहेको उल्लेख छ।

हाल सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको तर अझै बिक्री हुन नसकेको उनले जनाएका छन्। पुनले आफ्नो आत्मकथा बिक्रीबाट अढाइ वर्षमा १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका छन्। २०८० असोजमा सार्वजनिक गरिएको आत्मकथाको हालसम्म २ लाख ५० हजार प्रति बिक्री भइसकेको छ।

प्रति पुस्तक ७५० रुपैयाँ मूल्य रहेको उक्त पुस्तकबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिएको उनले बताएका छन्।

पुनले आफ्नो भौतिक सम्पत्तिभन्दा ठूलो सम्पत्ति देश–विदेशमा रहेका सहयोगीहरूलाई मान्ने बताएका छन्। ‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असिमित सम्पत्ति भनेका देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन्,’ उनले उल्लेख गरेका छन्। पुनले यसबाहेक आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन वा अन्य सम्पत्ति नभएको स्पष्ट पारेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार