
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन् ।
आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छ वटा सिकार ब्लकमा राखेर फर्केको बताए । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ ।
“हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, सुवेदीले भने, “सम्भावित चितुवाको वासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।”
हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ ।
आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँचितुवाको जङ्गलमा भेटिएको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?