
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।
“हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापोर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ”, उनले भने, “हाल ८० घर मौरी छन् । प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु ।” छन्त्यालका बुबा र बाजेले परम्परागत रुपमा भेडापालन गर्दै आएका थिए । रोजगारीको खोजीमा केही वर्ष खाडीमुलुकमा बिताएका रेशमले करिब १५ वर्ष गाउँमै भेडापालन गरे । उनले आठ वर्षअघि भेडा बेचेर मौरीपालन गर्न थालेको सुनाए ।
घरमै रहेको स्थानीय ‘एपी सेरेना’ जातको मौरीको चार÷पाँच वटाबाट घार छुट्टाएर २०० वटासम्म बनाएको उनले बताए । “जङ्गलमा महशिकार गरिने, हावापानी र मौसम अनुकूल भएकाले मौरीपालनलाई रोजेको हो”, उनले भने, “मौरीको आनीबानीको बारेमा जानकार भएकाले घार विस्तार गर्न समस्या भएन् ।” सामाजिक सञ्जाल ‘युट्युब’ मा कृषि विज्ञहरुको भनाइबाट प्रभावित भएर मौरीपालन गरेका छन्त्यालले हालसम्म सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट तालिम र अनुदान सुविधा नलिएको बताए । गुर्जाका साथै मौरी चराउन लाछावाङमा पनि लैजाने गरेका छन् ।
ग्राहक घरमै आउने भएकाले मह बिक्रीका लागि समस्या नभएको छन्त्यालले बताए । अधिक वर्षा र हिमपातका समयमा चरनको अभाव हुँदा मौरीलाई महनै आहारा दिने गरेका छन् । वरपरका वनजङ्गल र खेतबारी मौरीको चरन क्षेत्र हुन् । धेरै जाडो र फूल नफुल्दा मौरीलाई आहारा व्यवस्थापनमा समस्या हुने गरेको उहाँको अनुभव छ । जङ्गली जनावर भालु र मालछेपारोको आक्रमणबाट मौरीलाई जोगाउनु अर्को चुनौती रहेको छ । भौगोलिक विकटताका कारण बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयमा पुगेर फर्म दर्ता तथा पान नम्बर लिन नपाएको छन्त्यालले गुनासो गरे ।
हालै सडक सञ्जालमा जोडिएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले घुम्ती शिविर आयोजना गरेर मौरीपालक किसान रेशमसहितका उद्यमी, कृषक र व्यवसायीलाई दर्ता, करको दायरा, तालिम र अनुदान सुविधामा जोड्न पहल गरिने बताए ।













समाचार
विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
कर्णाली प्रदेशको विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन यान्त्रिक क्रेन उपलब्ध गराइने
सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति