फौजी किराले मकैबाली सखाप

खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्‍याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका किसानले छरेको मकैबालीलाई फौजी किराले क्षति गरेको हो ।

मकैलाई बाँदरबाट जोगाउन संघर्ष गरिरहेका किसानलाई फौजीकिराले सताएको हो । प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवा फौजीकिराले सखाप पारेपछि किसान हैरान बनेका छन् । कतिपय किसानले विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रणको प्रयास गरिरहेका छन् ।

फौजी किराले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा लगायतका ठाउँमा लगाइएको मकै बालीमा क्षति पुर्‍याएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी, दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु लगायतका ठाउँमा लगाइएको मकैबालीमा फौजीकिराको आक्रमण देखिएको छ ।

लफ्याङको तिल्केनी, तित्रीबोटे, पुरानोगाउँ, बास्तोलागाउँ, माझगाउँलगायतका ठाउँमा फौजी किराले मकैबाली सखाप बनाएको स्थानीय राजेन्द्र राईले बताए । सुरुमा खेतमा लगाइएको मकैमा लागेको फौजीकिरा क्रमश: बारीको मकैमा सरेको हो ।

यस्तै, खोटेहाङ गाउँपालिका–८ सिमपानीको बर्रे भाटेश्वारामा चैतमा छरेको मकैमा फौजीकिरा लागेको थियो । किसानले विषादि किनेर हालेपछि केही नियन्त्रणमा आएको थियो तर बैसाखमा छरेको मकैमा पनि फौजीकिरा लागेको स्थानीय शिखर कतिवडा बताउँछन् ।

फौजीकिराले गोडमेल गर्नेबेलाको मकैको बिरुवाको गुवादेखि पात समेत खाएर क्षति पुर्‍याइरहेको छ । फौजीकिराले मकैको कलिलो बिरुवा खाइदिएपछि बढ्न नसक्ने र उत्पादन दिन नसक्ने किसानको अनुभव छ ।

कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका अधिकांश ठाउँमा लगाइएको मकै बालीमा फौजी किराको आक्रमण देखिएको छ । फौजी किराले ढिलो छरिएका वा पछौटे मकैलाई बढी आक्रमण गर्ने गरेको छ ।

फौजी किरा नियन्त्रणका लागि इमामेक्टीन बेन्जोयड ५ एससी र स्पीनोस्याड ४५ एससीलाई पानीमा मिसाएर ‘स्प्रे’ गर्नुपर्ने कृषि ज्ञान केन्द्रका सहायक बाली संरक्षण अधिकृत हरिनारायण राईको सुझाव छ ।

राईका अनुसार निमको तेल वा वनस्पती विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रण गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । केही वर्ष यता जिल्लाका १० वटै स्थानीय तहमा फौजी किराको आतंक फैलिन थालेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार