काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड पूर्णकालिन नेतृत्व बिहीन अवस्थमा रहेको छ । अध्यक्षले राजीनामा दिएको अवस्थामा अहिले अर्थमन्त्रालयका प्रतिनिधिले अध्यक्षको जिम्मेवारी सम्मालिरहेका छन् । तर, अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिए पछि करिब २ महिना हुनलाग्यो अध्यक्ष नयाँ अध्यक्ष आउन सकेका छैनन् ।
अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनको काम गर्न सकिरहेको छैन । अहिले बोर्डमा आईपीओ र हकप्रद सेयरका लागि आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ । बोर्डको अध्यक्ष रिक्त भए पनि हकप्रद सेयर जारी गर्नका लागि आवेदन दिने कम्पनी कम भएका छैनन् । यसै बीच पिपल्स हाइड्रोपावर कम्पनी र अरुण काबेली पावर लिमिटेडले बोर्डमा हकप्रद सेयर निष्काशनको लागि आवेदन दिएका छन् ।
पिपल्स हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ५० हजार कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएको छ भने अरुण काबेली पावरले २ बराबर १ को अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १ सय रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार ७ सय ११ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको हो । पछिल्लोपटक गत वर्ष फागुन २५ गते हिमालयन पावर पार्टनरलाई चुक्ता पुँजी ५० प्रतिशतले हुन आउने ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २५ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएपछि कुनै पनि कम्पनीलाई बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छैन ।
अहिले सेबोनमा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको पर्खाइमा रहेको छ । नेपाल धितोपत्र बोर्डको नियमन विभागको चालु आर्थिक वर्ष २०८२÷८३ को तथ्यांक अनुसार २५ वटा कम्पनीहरू हकप्रद निष्काशनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । बोर्डको प्रारम्भिक समीक्षा, सोधपुछ र जवाफ आदानप्रदानको चरणमा रहेका यी कम्पनीहरूले कुल २५ अर्ब ४७ करोड ७७ लाख ५ हजार ६२७ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएका छन् ।
बोर्डका अनुसार कुल आवेदन दिएकामध्ये २३ वटा कम्पनीहरू प्रारम्भिक समीक्षाको चरणमा रहेका छन् । यस चरणमा रहेका कम्पनीहरूको मात्रै कुल निष्काशन रकम २३ अर्ब ९१ करोड २३ लाख ७२ हजार ८३ रुपैयाँ रहेको छ, जसका लागि कुल २३ करोड ९१ लाख २३ हजार ७२१ कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गरिएको छ । हकप्रद सेयर निष्कासनको प्रतिक्षामा रहेका कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् ।
हाल हकप्रद सेयरको पर्खाइमा रहेका जलविद्युत् क्षेत्रतर्फ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले २५ करोड रुपैयाँ, मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ, माइखोला हाइड्रोपावरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ, र सगरमाथा जलविद्युत् कम्पनीले १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ बराबरको रहेका छन् । यस्तै सायापत्री हाइड्रोपावरले २२ करोड २५ लाख ५८ हजार ९८९ रुपैयाँ, राधी विद्युत कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँ, पाँचथर पावर कम्पनीले ९६ करोड २५ लाख रुपैयाँ, र दोल्ती पावर कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँको हकप्रद स्वीकृतिको पर्खाइमा आवेदन दिएका छन् ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ, मनकामना इन्जिनियरिङ हाइड्रोपावरले ६१ करोड ७१ लाख २६ हजार ८०० रुपैयाँ, मोदी इनर्जीले २ अर्ब ६१ करोड ८ लाख ५० हजार रुपैयाँ, हिमालयन हाइड्रोपावरले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरले ३ अर्ब २० करोड रुपैयाँ र अरुण काबेली पावर लिमिटेडले १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँ बराबरको हकप्रद निष्काशनको अनुमति माग्दै प्रारम्भिक समीक्षाको सूचीमा रहेका छन् ।
उत्पादन तथा प्रशोधन क्षेत्रबाट घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले ३ अर्ब ७६ करोड ७४ लाख ७ हजार ७०३ रुपैयाँ बराबरको ठूलो परिमाणको हकप्रद निष्काशनको अनुमति मागेको छ । सोही क्षेत्रको नेपाल ल्युब आयलले १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँको आवेदन दिएको छ । इन्भेष्टमेन्ट क्षेत्रबाट सीइडीबी होल्डिङ्स लिमिटेडले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन् । होटल क्षेत्रबाट ओरिएन्टल होटल्स लिमिटेडले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ र कालिञ्चोक दर्शन लिमिटेडले ६३ करोड रुपैयाँको हकप्रद प्रस्ताव गरेका छन् । अन्य समूह अन्तर्गत मुक्तिनाथ कृषि कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ र नेपाल वेयरहाउजिङ कम्पनीले ६८ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएका छन् ।
प्रारम्भिक समीक्षा बाहेक प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रदका लागि आवेदन दिएकोमा बोर्डले समीक्षा गरी कमेन्ट पठाइसकेको छ । तर, कम्पनीले हकप्रद सेयर अनुपात संशोधन गरी नयाँ प्रस्ताव कायम गर्ने सम्बन्धमा पत्र दर्ता गराएको छ । त्यस्तै, निर्जीवन बीमा क्षेत्रको प्रभु इन्स्योरेन्स लिमिटेडले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि बोर्डको प्रश्नको जवाफ पेस गरिसकेको र हाल यो पुनः समीक्षाको चरणमा रहेको छ ।
बोर्डमा आवेदन दिएर प्रक्रिया पूरा गरेका ७ वटा कम्पनीहरूले भने चालु आर्थिक वर्षको फागुन २५ गतेसम्ममा हकप्रद सेयर निष्काशनको अन्तिम स्वीकृति पाइसकेका छन् । यी ७ कम्पनीहरूले बजारबाट कुल ४ अर्ब ९४ करोड १७ लाख ७६ हजार २०० रुपैयाँ बराबरको पूँजी हकप्रद जारी गरेर उठाएका छन् ।
स्वीकृति पाउने कम्पनीहरूमा शिवश्री हाइड्रोपावर लिमिटेडले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ संकलन गर्न स्वीकृति पाएको छ । होटल तथा पर्यटन क्षेत्रको सिटी होटल लिमिटेडले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने अनुमति पाएको छ । रिभर फल्स पावर लिमिटेडले ७० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ । विकास बैंक समूहबाट नारायणी डेभलपमेन्ट बैंकले २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ जुटाउन स्वीकृति पाएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले ४० करोड रुपैयाँ संकलन गर्न अनुमति पाएको छ । त्यस्तै युनाइटेड अजौड इन्स्योरेन्स लिमिटेडले २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । त्यस्तै हिमालयन पावर पार्टनर लिमिटेडले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न अन्तिम अनुमति पाएको छ ।