
काठमाडौं । पछिल्लो समय नेपालमा आयात हुने सामानमध्ये शृङ्गार सामान आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष ११ महिना (साउनदेखि जेठ) सम्म नेपालमा कस्मेटिक समान आयात गत वर्षको तुलनामा उल्लेख्य बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न स्याहार सामग्री आयातमा मात्रै यस अवधिमा करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरिएको छ । गत आव २०८१/८२ को ११ महिना अवधिमा यी सामग्रीको कुल आयात करिब ११ अर्ब २८ करोड २७ लाख बराबर थियो । गत वर्षको तुलनामा यस वर्ष यी कस्मेटिक सामग्री आयात समग्रमा करिब १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिन्छ ।
तथ्यांक अनुसार ओठको सुन्दरता बढाउन प्रयोग हुने ‘लिप मेकअप’ (लिपस्टिक लगायत) सामग्री आयातमा भारी वृद्धि भएको छ । गत वर्ष ११ महिनामा ५९ करोड ३७ लाख रुपैयाँ बराबरको लिप मेकअप आयात भएकोमा चालु आव सोही अवधिमा बढेर ७१ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी अनुहारमा लगाउने फेस क्रिम आयात पनि ह्वात्तै बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ४७ लाख रुपैयाँको फेस क्रिम आयात भएकोमा यस वर्ष बढेर १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बडी लोसन आयात पनि ६६ करोड ३ लाखबाट बढेर ७२ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
वर्गीकरणमा नपरेका ‘अन्य ब्युटी तथा मेकअप’ का सामग्रीमा सबैभन्दा धेरै रकम बाहिरिएको छ, जसको आयात गत वर्षको ४ अर्ब ३ करोड ५१ लाखबाट बढेर यस वर्ष ४ अर्ब ४७ करोड २ लाख पुगेको छ । आँखाको मेकअप सामान आयात भने २७ करोड २९ लाखबाट सामान्य बढेर २७ करोड ४२ लाख पुगेको छ । यद्यपि, अनुहारमा लगाउने पाउडर आयात भने घटेको छ । गत वर्ष ३७ करोड ८० लाखको पाउडर आएकोमा यस वर्ष २५ करोड २८ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै हातखुट्टा र नङ स्याहारमा प्रयोग हुने सामग्री आयातमा पनि वृद्धि देखिएको छ । नेल पोलिस आयात गत वर्षको ५ करोड २३ लाखबाट बढेर ५ करोड ८८ लाख पुगेको छ भने अन्य मेनिक्योर र पेडिक्योर सामग्री आयात १ करोड ४८ लाखबाट अस्वाभाविक बढेर ५ करोड २९ लाख पुगेको छ ।
जाडोमा छाला सुरक्षाका लागि प्रयोग हुने पेट्रोलियम जेली आयात पनि २ करोड ८७ लाखबाट बढेर ७ करोड ४८ लाख पुगेको छ । आधुनिक शृङ्गार साधन आयात बढ्दा परम्परागत शृङ्गार सामग्री सिन्दुर आयात भने घटेको छ । गत वर्ष १ करोड ३५ लाख रुपैयाँको सिन्दूर आयात भएकोमा यस वर्ष घटेर १ करोड १४ लाखमा सीमित भएको छ ।
कपाल स्याहार सम्बन्धी सामग्री आयातमा भने मिश्रित अवस्था देखिएको छ । कपाल धुने स्याम्पु आयात गत वर्ष १ अर्ब १७ करोड ११ लाख रहेकोमा यस वर्ष सामान्य घटेर १ अर्ब १३ करोड २३ लाख कायम भएको छ । कपालमा लगाउने हेयर कन्डिसनर र हेयर क्रिम आयात पनि घटेको छ । कन्डिसनर १३ करोड ७६ लाखबाट घटेर १२ करोड १३ लाख र हेयर क्रिम ६ करोड २ लाखबाट घटेर ४ करोड ३९ लाखको भित्रिएको छ । तर, कपालमा लगाउने तेल आयात भने ६० करोड १२ लाखबाट बढेर ६४ करोड ३४ लाख पुगेको छ । कपाल रङ्गाउने हेयर डाई आयात पनि ९६ करोड २४ लाखबाट बढेर १ अर्ब १ करोड २४ लाख पुगेको छ ।
समग्रमा सिन्दूर, पाउडर, स्याम्पु, कन्डिसनर जस्ता सीमित प्रसाधन बाहेक लिपस्टिक, फेस क्रिम, बडी लोसन, हेयर डाई लगायत अधिकांश सौन्दर्य सामग्री आयात र खपत नेपालमा बढ्दै गएको तथ्यांकले देखाउँछ । यो तथ्यांकले नेपाली बजारमा विदेशी कस्मेटिक सामग्री माग उच्च रहेको र यसमा हुने खर्च पनि बढ्दै गएको देखिन्छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट