६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च उछाल देखिएको हो ।

वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ६०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको आम्दानीमा उत्साहजनक वृद्धि आएको र सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न मद्दत पुगेको देखिएको छ । बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १० अर्ब १५ करोड ३९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ह्वात्तै बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ जसकारण अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्षसम्म आइपुग्दा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोष ३७ अर्ब ३९ करोडबाट बढेर ३९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह २ खर्ब ९२ अर्ब ३३ करोडबाट ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ५ खर्ब ४१ करोडबाट ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगको छ । बैंकको प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट