एप्पलले चीनको बजारका लागि आफ्नै स्वामित्वको एआई मोडल तयार गर्‍यो, अलिबाबाले सघाए

काठमाडौं । एप्पलले चीनको बजारका लागि विशेष रूपमा आफ्नै ‘लार्ज ल्याङ्वेज मोडल’ (एलएलएम) तयार गरेको जानकार स्रोतहरूले खुलाएका छन् । यसअघि चीनमा एआई सुविधा सञ्चालन गर्न एप्पलले तेस्रो पक्षका मोडलमा निर्भर रहने रणनीति अपनाएको थियो ।

स्रोतका अनुसार अहिलेको आफ्नै एआई मोडल चिनियाँ प्रविधि कम्पनी अलिबाबा ग्रुपसँगको सहकार्यमा विकास गरिएको हो । अलिबाबाले मोडलको प्रशिक्षणमा पनि सहयोग गरेको थियो । संवेदनशील र सार्वजनिक नभएको विषय भएकाले स्रोतहरूले आफ्नो नाम सार्वजनिक गर्न भने अस्वीकार गरेका छन् ।

चीनका लागि आफ्नै विशेष एआई मोडल तयार गरिरहेको एप्पलको योजना यसअघि कतै सार्वजनिक भएको थिएन । कम्पनीले चीनमा बिक्री हुने आईफोन र अन्य उपकरणमा ‘जेनेरेटिभ एआई’ सुविधा ल्याउन यसअघि चिनियाँ साझेदार कम्पनीका मोडलमा नै अत्यधिक निर्भर हुदैँ आएको थियो ।

चीनमा एन्थ्रोपिकको क्लाउड र ओपनएआईको च्याटजीपीटीजस्ता अमेरिकी एआई मोडल उपलब्ध छैनन् । अमेरिकामा भने एप्पलले आफ्नै प्रविधिसँग यस्ता मोडललाई जोडेर एआई सुविधा सञ्चालन गर्दै आएको छ ।

एप्पल र अलिबाबाले भने यस विषयमा टिप्पणी गरिसकेका छैनन् । एप्पलको एआई उपकरणहरूको समूह ‘एप्पल इन्टेलिजेन्स’ आगामी केही महिनामा ‘आइफोन अपरेटिभ सिस्टम’ (आईओएस)को नयाँ अपडेटपछि चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् ।

चीनका लागि विशेष रूपमा तयार गरिएको आफ्नै एआई मोडलले एप्पललाई चीनमा एआईसम्बन्धी विषयमा थप पकड दिलाउनेछ । चीन एप्पलको सबैभन्दा प्रतिस्पर्धात्मक विदेशी बजारमध्ये एक हो । पछिल्लो समय एआई सुविधा भएका स्मार्टफोनमा हुवावेजस्ता चिनियाँ कम्पनीहरू अगाडि बढेपछि एप्पलले बजारको केही हिस्सा गुमाएको छ ।

जुलाईमा एप्पलको एआई सेवाको दर्ता भएको समाचार सार्वजनिक भएपछि अमेरिकामा सूचीकृत अलिबाबाका सेयरको मूल्य बजार खुल्नुअघि करिब ४ प्रतिशत बढेको थियो । यसले एप्पल र अलिबाबाबिचको सहकार्यले चीनको एआई क्षेत्रमा ठुलो प्रभाव पार्न सक्ने लगानीकर्ताको अपेक्षा देखाउँछ ।

एप्पलको यो योजनाले चीनमा विदेशी कम्पनीका लागि एआई प्रयोगसम्बन्धी एउटा फरक रणनीति प्रस्तुत गर्नेछ । यसबाट अन्य अमेरिकी प्रविधि कम्पनीहरूका लागि पहुँच सीमित बनाएका कडा चिनियाँ नियामकीय अवरोध पार गर्न एप्पललाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसले एप्पललाई चीनमा आफ्नै स्वामित्वको एआई मोडल उपलब्ध गराउन बेइजिङबाट स्वीकृति पाउने पहिलो विदेशी कम्पनी पनि बनाउन सक्छ । एआईका विषयमा अमेरिका र चीनबीच व्यापार तथा कूटनीतिक तनाव बढिरहेका बेला अमेरिकी र चिनियाँ प्रविधि कम्पनीबिचको यस्तो सहकार्यलाई दुर्लभ घटनाका रूपमा हेरिएको छ ।

नियामकीय प्रक्रिया पूरा, तर अझै अन्योल

यो कदम लामो नियामकीय प्रक्रियापछि आएको हो । गत महिना चीनको इन्टरनेट नियामक संस्था ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ (सीएसी) ले एप्पलको जेनेरेटिभ एआई सेवालाई दर्ता गरेको थियो । यससँगै पहिलोपटक चिनियाँ आईफोनमा एप्पल इन्टेलिजेन्स ल्याउने बाटो खुलेको थियो ।

यस व्यवस्थाअनुसार चीनमा बिक्री हुने एप्पल इन्टेलिजेन्सको संस्करणमा अलिबाबाको ‘क्वेन’ एआई मोडल समावेश गरिनेछ । यो सेवा आईफोन, आईप्याड, म्याक र भिजन प्रोका उपयुक्त मोडलमा उपलब्ध हुने अपेक्षा गरिएको छ । श्रोतका अनुसार यस सेवामा चिनियाँ कम्पनी बाइडुको प्रविधि पनि समावेश गरिनेछ ।

चीन एप्पलको व्यापारका लागि अझै अत्यन्त महत्त्वपूर्ण बजार हो र कम्पनीको कुल आम्दानीमा यसको ठुलो योगदान छ । चिनियाँ आईफोनमा एआई सुविधा उपलब्ध नहुनुलाई बिक्री कमजोर हुनुको एउटा कारणका रूपमा पनि लिइएको थियो । चिनियाँ उपभोक्ताहरूले ‘एआई एसिस्टेन्ट’ पहिले नै उपलब्ध भएका स्वदेशी ब्रान्डका स्मार्टफोनतर्फ आकर्षित हुन थालेका थिए ।

गत साता एप्पलले चिनियाँ भाषामा एउटा निर्देशिका सार्वजनिक गर्दै चीनमा रहेका आधिकारिक म्याक प्रयोगकर्ताले आफ्नो ‘सिरी डिजिटल एसिस्टेन्ट’ र ‘राइटिङ टुल्स’ सुविधासँग अलिबाबाको क्वेन जोड्न सक्ने जानकारी दिएको थियो । यो म्याकका लागि विशेष व्यवस्था थियो, जसले चीनको ‘एआई पीसी’ बजारमा प्रतिस्पर्धा गर्न एप्पललाई सहयोग गर्न सक्ने अनुमान गरिएको थियो । तर एप्पलले पछि कुनै कारण नबताई उक्त निर्देशिका हटाएको छ ।

जुलाईमा एप्पलको एआई सेवाको दर्ता भएको समाचार सार्वजनिक भएपछि अमेरिकामा सूचीकृत अलिबाबाका सेयरको मूल्य बजार खुल्नुअघि करिब ४ प्रतिशत बढेको थियो । यसले एप्पल र अलिबाबाबिचको सहकार्यले चीनको एआई क्षेत्रमा ठुलो प्रभाव पार्न सक्ने लगानीकर्ताको अपेक्षा देखाउँछ ।

चीनमा एआईबाट व्यापार सुधार्ने एप्पलको प्रयास

एप्पल र अलिबाबाबिचको साझेदारी पहिलोपटक सन् २०२५ को फेब्रुअरीमा पुष्टि भएको थियो । त्यतिबेला अलिबाबाका अध्यक्ष जो त्साईले दुबईमा आयोजित विश्वका सरकारहरूको शिखर सम्मेलनमा चीनमा एप्पलका फोनमा एआई सुविधा सञ्चालन गर्न आफ्नो कम्पनीको एआई प्रयोग हुने बताएका थिए ।

त्साईले त्यतिबेला भनेका थिए, ‘उनीहरूले चीनमा धेरै कम्पनीसँग कुरा गरेका थिए । अन्ततः उनीहरूले हामीसँग व्यापार गर्ने निर्णय गरे ।’ तर चिनियाँ नियमनअनुसार आफ्ना एआई सुविधा अनुकूल बनाउन एप्पलले थप काम गर्नुपरेकाले सेवा सार्वजनिक गर्ने योजना पछि धकेलिएको थियो ।

चीन एप्पलको व्यापारका लागि अझै अत्यन्त महत्त्वपूर्ण बजार हो र कम्पनीको कुल आम्दानीमा यसको ठुलो योगदान छ । चिनियाँ आईफोनमा एआई सुविधा उपलब्ध नहुनुलाई बिक्री कमजोर हुनुको एउटा कारणका रूपमा पनि लिइएको थियो । चिनियाँ उपभोक्ताहरूले ‘एआई एसिस्टेन्ट’ पहिले नै उपलब्ध भएका स्वदेशी ब्रान्डका स्मार्टफोनतर्फ आकर्षित हुन थालेका थिए ।

यद्यपि, एप्पलले आफैँले तयार गरेको नयाँ एआई मोडलले अलिबाबा र अन्य चिनियाँ कम्पनीका तेस्रो–पक्ष मोडलसँग कसरी काम गर्नेछ र कुन अवस्थामा प्रयोग हुनेछ भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन ।

फेसबुक प्रतिक्रिया