
म्याग्दी । विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे। व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए। अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।
फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ ।
“एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”
आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् ।
बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उनकी श्रीमती रितुले रामरेखामा घर बनाए । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाएका छन् भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।
तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”
उनको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।
उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन्। स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।
चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”
तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराएकाे बताए ।











समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण