लुम्बिनीलाई उत्तरपूर्वी भारतसँग जोड्दै नेपाल–भारत पर्यटन सम्झौता

लुम्बिनीलाई भारतका उत्तरपूर्वी राज्यहरूसँग प्रत्यक्ष जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने पहल अघि बढाइएको छ । धार्मिक तथा आध्यात्मिक पर्यटनको ठूलो सम्भावना रहे पनि पूर्वाधार र बजारीकरण अपेक्षाअनुसार हुन नसकेको अवस्थामा निजी क्षेत्र र स्थानीय निकायको सहकार्यमा सीमापार पर्यटन प्रवद्र्धन रणनीति अघि सारिएको हो ।

यसैक्रममा लुम्बिनी होटल सङ्घ नेपाल र उत्तरपूर्व भारतीय पर्यटन महासंघबीच गत बुधबार लुम्बिनीमा पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताले लुम्बिनीलाई भारतका आठ उत्तरपूर्वी राज्य—आसाम, मेघालय, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा र सिक्किमसँग पर्यटन सञ्जालमा जोड्ने आधार तयार गरेको छ ।

रणनीतिअनुसार लुम्बिनीलाई क्षेत्रीय पर्यटनको ‘केन्द्रीय ट्रान्जिट तथा वितरण हब’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उत्तरपूर्वी भारतका बौद्ध धर्मावलम्बी तथा तीर्थयात्रीलाई लुम्बिनी ल्याउनुका साथै यहाँ आउने पर्यटकलाई रामग्राम, तिलौराकोट र देवदहजस्ता बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलसम्म पु¥याएर पर्यटकको बसाइ अवधि बढाउने योजना छ ।

सम्झौतापछि व्यवसायीले काँकडभिट्टा हुँदै लुम्बिनीसम्मको स्थलमार्ग सहज बनाउन तथा भविष्यमा हवाई सम्पर्क विस्तार गर्न दुवै देशका सरकारसँग संयुक्त पहल गर्ने भएका छन् ।

लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले सम्झौता दुई देशको पर्यटन सम्भावनालाई जोड्ने दीर्घकालीन पुल बन्ने बताए । उत्तरपूर्वी भारतका पर्यटकलाई पूर्वी नाकाबाट लुम्बिनीसम्म ल्याउन सम्झौताले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर