लुम्बिनीको नेतृत्वमा आनी छोइङ डोल्मा, पाँच वर्षे जिम्मेवारी

काठमाडौं । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र व्यवस्थापनको जिम्मेवारी बौद्ध भिक्षुणी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गायिका आनी छोइङ डोल्माको काँधमा आएको छ । सरकारले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनीलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोष ऐन, २०४२ को व्यवस्थाअनुसार नियुक्त उनको पदावधि पाँच वर्षको हुनेछ । उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत रहने व्यवस्था छ ।

सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन् । बौद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीत सिकेकी उनले आफ्नो गायनमार्फत बौद्ध दर्शनलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाएकी छन् ।

धार्मिक संगीतसँगै सामाजिक सेवामा सक्रिय आनीको नियुक्तिले लुम्बिनीको धार्मिक महत्व, अन्तर्राष्ट्रिय पहिचान र विकास व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर