
काठमाडौं । सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५/१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दसैँ, तिहार तथा छट पर्वमा चिनीको अभाव हुन नदिने उद्देश्यका साथ सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिइएको स्पष्ट पारे । बैठकले सिराहा निवासी चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पद र फिजी, न्युजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यका लागि गैरआवासीय राजदूतका पदमा नियुक्तिका लागि सिफरिस गरेको छ ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत् आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीको म्याद एक वर्ष थप गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १२ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले भू–उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृतगरी संयुक्त राष्ट्रसंघीय समितिमा पेस गर्ने निर्णय गरेको छ ।
वैदेशिक भ्रमण स्वीकृत
सरकारले आगामी असोज २१ गते थाइल्याण्डमा आयोजना हुने सामाजिक संरक्षणसम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठलाई स्वीकृति दिएको छ । बैठकले आगामी असोज ८ देखि १० गतेसम्म इन्डोनेसियामा आयोजना हुने पाँचौँ मन्त्रिस्तरीय कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रुपा विकलाई स्वीकृति दिएको छ । यही भदौ २५ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नागरिक उड्डयनसम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा सहभागिताका लागि बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिएको छ ।













समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै