
महोत्तरी । ‘कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए)’ मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भने, ‘आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ) ।’
मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा रहेको छन् । यसैगरी, सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिए । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ ।
मटिहानीमा जारी एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता छ । मटिहानी नगर कार्यपालिकाको कार्यालयका विभिन्न शाखा र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा समेटिएको यो शिविरमा तीन दिनमा तीन हजार दुई सय ९२ सेवाग्राहीले घरआँगनमै सेवा लिए । आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि अहिले मटिहानीवासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयले मटिहानी–१ धिरापुरबाट बुधबार सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरमा सर्वसाधारण आ–आफ्ना सरोकारका शाखाबाट सेवा लिइरहेका छन् ।
मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनोट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन, निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत् मिटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् । यस्तै घुम्ती सेवामा घरपालुवा पशुवस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधि वितरण, पशुपक्षी पालनसम्बन्धी परामर्श, राजस्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइँदै छ । यी सबै काम बस्तीमै आएर दिँदा आपूmको कैयौँ दिनको दौडधुप र आवतजावतमा हुने खर्च बचेको नगरवासीले प्रतिक्रिया दिएका छन् ।
शिविरमा मटिहानी–३ की समिला खातुनले आफ्नै आँगनमा ज्येष्ठ नागरिक परिचयपत्र बनाइन् । ‘कैयौँ दिनदेखि सोच्दै थिएँ, कार्यालय जाउँला ज्येष्ठ नागरिक परिचयपत्र बनाउन, घरगृहस्थीको कामले भ्याएकी थिइनँ, अहिले त घरमै टोली आएर कागज प्रमाण सबै दिए’, उनले भनिन्, ‘घुम्ती सेवाले गरिबलाई निकै राहत भयो ।’
समिलाजस्तै सो वस्तीका रामभरोस मुखियाले पनि आफ्नै आँगनमा स्वास्थ्य बीमा गराए । ‘कहीँ जान परेन, आफ्नै घरआँगन आइपुगेको घुम्ती टोलीले सबै काम गरिदियो’, उनले भने । मटिहानी–४ बरदाहाकी ७० वर्षीया सुरुजकलादेवीले गाईको उपचार गराइन् । ‘गायके गोबर आ जरबुखार सब जचागेल, आ दबाइयो मिलल (गाईको गोबर र ज्वरो जाँच भयो, औषधि पनि पाएँ)’, उनले भनिन्, ‘न ढेउवा लागल, न कहुँ जाएके परेसानी भेल (न पैसा लाग्यो, न कहीँ जाने परेसानी नै भयो) ।’
घरआँगनमै ज्येष्ठ नागरिक परिचयपत्र बनाएकी मटिहानी–४ कै ७० वर्षीया लक्ष्मीनियाँ देवीले यो परिचयपत्रबाट अरु धेरै सहुलियत पाउने बताइन् । शिविरमा प्रवाह भइरहेका सेवाबारे जानकारी लिन मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि पुगिन् । ‘सर्वसाधारणले सहजै सेवा पाएको देखियो, यो सेवाले आम जनतामा सरकार आफ्नो घरआँगनमा आएको अनुभूति दिएको छ,’ मन्त्री तिवारी भनिन्, ‘यसले सकारात्मक सन्देश दिएको छ ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम