राजनीतिमा आउने कुलमानको संकेत : जुनसुकै जिम्मेवारीका लागि तयार छु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले राजनीतिमा आउने संकते गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले जनताको सेवाका लागि संधै तयार रहेको बताएका हुन् ।

‘आजदेखि म आम नागरिक बनेको छु । आम नगरिकका रुपमा गर्नु पर्ने काम म गर्छु,’ उनले भने, ‘जनताको सेवा गरेर माया पाएको छु । अब पनि आम जनताको सेवा गर्नका लागि संधै तयार रहने छु ।’ आफूले राम्रो काम गर्दा गर्दै पनि सरकारले हटाएको भन्दै यस बाट कत्तिपनि विचलित नभएको उनको भनाइ थियो ।

राजनीतिमा आउने सम्भावना के छ भन्ने प्रश्नमा उनले आम नागरिकका रुपमा गर्नु पर्ने र गर्न मिल्ने सबै काम गर्ने बताए । ‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ ?’ भन्ने प्रश्नमा उनले भने ‘मैले अघि वक्तव्यमा पनि भनेको छु । म एउटा जिम्मेवार नागरिक हो । अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ । एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन तयार छु ।’

‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छन, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’ आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार