
वीरगञ्ज । वीरगञ्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगञ्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ । वडा कार्यालय र महानगरमा समेत खानेपानीको समस्या लिएर पुग्ने सर्वसाधारणको सङ्ख्या दैनिक एक सयभन्दा बढी छन् ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालयका प्रमुख प्रवीणकुमार साहले जिल्लाभरिनै खानेपानीको अभाव देखिएको जानकारी दिए । ‘यहाँका सर्वसाधारण चापाकल सुकेसँगै खानेपानीको लाइन जडान गर्न आउनेको सङ्ख्या बढेको छ,’ उनले भने । वीरगञ्ज महानगर–१३ श्रीपुरका अब्दुल अहमदले खानेपानी अभावका कारण दैनिकी अस्तव्यस्त भएको गुनासो गरे । ‘महानगर क्षेत्रमा खानेपानीको चर्को अभाव झेल्दै आइरहेका छौँ,’ उनले भने, ‘विगत तीन वर्षदेखि यहाँ खानेपानीको हाहाकार भइरहेको छ ।’
उनले खानेपानीमन्त्री यही जिल्लाबाट प्रतिनिधित्व गर्ने भए पनि समस्या समाधान गर्न नसकेको दुखेसो पोखे । वीरगञ्ज महानगर–२६ का वडाध्यक्ष शम्भु मिश्र पनि वडामा रहेका ९० प्रतिशत बढी चापाकल सुकेको बताए । ‘पानीको अभाव भन्दै सर्वसाधारणले गुनासो धेरै आइसक्यो,’ उनले भने, ‘वडा कार्यालयकै पहलमा यही वर्ष दुईवटा बोरिङ खनेर पानी वितरण गरेका छौँ । तर, पर्याप्त छैन ।’ वडाध्यक्ष मिश्रले वडासँग सीमित स्रोतसाधन भएकाले जनताको आवश्यकता अनुसार ‘बोरिङ’ खन्न नसकिरहेको गुनासो गरे। वीरगञ्ज महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जमिनमुनिको भूमिगत पानीको सतह घटेसँगै अधिकांश चापाकाल सुक्खायाममा सुक्ने गरेको बताए ।
वीरगञ्ज महानगरका अनुसार अहिले यहाँको वडा नं १, २, ११, १३, १६, २५, २६ लगायतका स्थानमा पानीको अभाव छ । शाखा प्रमुख साहले चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरले प्रदेश सरकारसँग समन्वय गरेर ७५ स्थानभन्दा धेरै ठाउँमा ‘डिप बोरिङ’ मार्फत पानी उपलब्ध गराउँदै आएको छ । ‘पाँचदेखि छ लाख रुपैयाँ लागतमा करिब ७५ वटाभन्दा धेरै बोरिङ खनेर सर्वसाधारणलाई पानी वितरण गर्दै आइरहेका छौँ,’ उनले भने, ‘वीरगञ्जमा पानीको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले एसियाली विकास बैङ्कसँगको साझेदारीमा खानेपानी आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।’
खानेपानी संस्थानले दैनिक करिब एक करोड लिटर खानेपानी वितरण गर्ने गरेको जनाएको छ । तर, संस्थानको ४० प्रतिशत पानी चुहावट हुने गरेको बताइन्छ । शाखाका कार्यालय प्रमुख साहले पाइपलाइनको संरचनाको कारणले पनि अपेक्षाकृत ढङ्गले खानेपानी विस्तार गर्न नसकेको स्वीकारे । चालु आवमा मात्रै यहाँका करिब ६०० सर्वसाधारणले नयाँ धारा जडानको माग गरेका छन् । ३५० भन्दा धेरै खानेपानीको लाइन जडानको पर्खाइमा छन् । खानेपानी संस्थानका महानगरभित्र १२ हजार ग्राहक छन् । वडा कार्यालयको सिफारिसमा संस्थानले रु छ हजार ३७० लिएर नयाँ धारा जडान गर्दै आएको छ ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु