काठमाडौं । कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रुपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकका रुपमा मल्ललाई नियुक्त गरेको हो ।
कर्णाली याक्स स्पोर्टस प्रा.लिका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार मल्ललाई आगामी सिजनका लागि पनि प्रशिक्षकका रुपमा नियुक्त गरिएको हो । ‘पहिलो संस्करणमा पाएको सफलतामा पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्लको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले पनि सहकार्यलाई निरन्तरता दिन पाउँनु खुशीको कुरा हो,’ निर्देशक घिमिरेले भने ।
सम्झौता अवधि एक वर्ष हुनेछ बताइएको । २०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की खेलाडीमा सोमपाल कामीलाई निरन्तर्ता दिएको छ । त्यस्तै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई टोलिले रिटेन गरेको छ ।