काठमाडौं । लिभरपुलले लुइस डियाजका लागि बायर्न म्युनिखले गरेको प्रस्ताव अस्वीकार गरेको छ । बायर्नले गरेको ५८.६ मिलियन पाउण्डको सुरुआती प्रस्ताव लिभरपुलले अस्वीकार गरेको हो ।
जर्मन क्लब बायर्नले केही हप्ता अघि लिभरपुलसँग डियाजको बारेमा सम्पर्क गरेको बताइएको छ । तर त्यसबेला नै लिभरपुलले स्पष्ट रूपमा डियाज बिक्रीका लागि नरहेको जनाएको थियो । मंगलबार आफ्नो धारणा झनै बलियो बनाउँदै लिभरपुलले २८ वर्षीय कोलम्बियन फरवार्डका लागि बायर्नको पहिलो प्रस्ताव अस्वीकार गर्यो ।
डच प्रशिक्षक आर्ने स्लटको टोलीमा डियाजलाई एक महत्त्वपूर्ण सदस्यको रूपमा हेरिन्छ । लिभरपुलले उनलाई ८७ मिलियन पाउण्ड भन्दा बढी मूल्यांकन गरेको छ । उनको लिभरपुलसँगको सम्झौता सन् २०२७ मा समाप्त हुने छ । गएको सिजन उनले क्लब र राष्ट्रिय टोलीका लागि गरी २२ गोल गरेका थिए । तीमध्ये १३ गोल प्रिमियर लिगमा थिए । लिभरपुलले दोस्रो स्थानमा टोलीलाई १० अंकले पछि पार्दै प्रिमियर लिग जितेको थियो ।
डियाजप्रति अघिल्लो गर्मीयाम म्यानचेस्टर सिटीले चासो देखाएको थियो। उनलाई साउदी अरबमा पनि रुचाउने गरेको बताइएको छ । लिभरपुल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । क्लबले न्युक्यासल युनाइटेडका स्विडिस फरवार्ड अलेक्जेन्डर इसाकप्रति चासो देखाएको छ ।