
सुनसरी । धरानका सडक, खोला र खानेपानीको मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रूपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उनी निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आए ।
नगर प्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए । उनी आफैँ ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरे । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरे ।
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबिच ‘अभियानबाट उठेको नेता’ का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबिचको बहसले उनलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।
राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय थिए । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे । धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उनी स्थानीयस्तरमा चर्चामा आएका थिए । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एक पटक पक्राउसमेत परे । केही दिन पछि उनी रिहा भएका थिए ।
हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा सङ्घर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे । त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहेका थिए । त्यही गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्ने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका थिए । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उहाँ “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन् ।
नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरे र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । उनले अब सांसदका रूपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आएका छन् ।
धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता