बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न

भक्तपुर । भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजना गर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीसँग सहकार्य गर्नेगरी अगाडि बढ्ने योजना बनाइरहेको बताइन्। उनले युवा उद्यमीको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै युवापुस्तालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि स्वदेशमै रोजगारी अवसर बनाउने र स्वरोजगारको वातावरण बनाउन उद्यमी लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायत वक्ताले नयाँ उद्यमीको विकासका लागि तीन तहका सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने बताए ।

सम्मेलनमा बागमती प्रदेशभित्रका ५०० भन्दाबढी युवा उद्यमी तथा व्यवसायीको सहभागिता रहेको बताउँदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्द्धनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताए ।

एक व्यवसायीले सुरु गरेको व्यवसायलाई अरुले पनि नक्कल गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गरी बजार आवश्यकताको पहिचान गरेर फरकफरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको उनले बताए । सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, युवा उद्यमशीलतालाई प्रवर्द्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय एवं नवप्रवर्तन मैत्री वातावरण निर्माण गर्नेलगायत विषयमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, स्टार्टअप प्रदर्शनीलगायत आयोजना गरी उद्योगको विकासका बारेमा छलफल भएको थियो । विज्ञका रूपमा सुवास शर्मा, विनायक शाह, डा प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले समूहगत छलफल गरी उद्योगको नयाँ ढाँचाका बारेमा चर्चा गरेका थिए । सफल उद्यमीले आफ्नो उद्यम यात्रा, सङ्घर्ष, सिकाइ र सफलताका अनुभव प्रस्तुत गरेका थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यावसायिक अवधारणा तथा स्टार्टअप योजना विज्ञको समूह समक्ष प्रस्तुत गरेका थिए ।

सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुको ३० वटा प्रदर्शनी कक्ष राखिएका उपसमितिका संयोजक अवालले जानकारी दिए । यसैगरी, सङ्घले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला-२०८३ आयोजना गर्ने भएको छ ।

‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिइएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार