
काठमाडौं । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा टिकटकले अमेरिकालाई ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएको छ। यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा भएको अहिलेसम्मकै ठूलोमध्ये एक सम्झौता हो।
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा सन् २०२४ मा न्याय विभागले टिकटक र यसको मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा टिकटकले १३ वर्षभन्दा कम उमेरका लाखौँ प्रयोगकर्ताको ठूलो मात्रामा व्यक्तिगत डेटा संकलन गरेको आरोप लगाइएको थियो।
अमेरिकामा सन् २००० मा लागू गरिएको चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट (कोप्पा) ले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत जानकारी संकलन गर्नुअघि अभिभावकको सहमति लिनुपर्ने व्यवस्था गरेको छ। टिकटकले उक्त कानुन उल्लंघन गरेको अमेरिकी न्याय विभागको आरोप थियो।
अमेरिकी न्याय विभागका सहायक महान्यायाधिवक्ता ब्रेट शुमाटेले यो सम्झौतापछि मुद्दा सुरु हुँदाको तुलनामा बालबालिका र अभिभावक अहिले बढी सुरक्षित भएको बताएका छन्। सम्झौताअनुसार टिकटक र बाइटडान्सले तत्काल अमेरिकी न्याय विभागलाई ३० करोड डलर तिर्नेछन्। बाँकी १० करोड डलर भने सन् २०१९ मा अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)सँग भएको सहमति आदेश खारेज भएपछि तिर्नुपर्नेछ।
यसअघि टिकटकको पूर्वरूप म्युजिकल्लीले सन् २०१९ मा बालबालिकाको गोपनीयता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा ५७ लाख डलर जरिवाना तिरेको थियो। साथै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि अभिभावकको सहमति लिनुपर्ने व्यवस्था लागू गर्नुपर्ने सर्तसमेत राखिएको थियो।
अमेरिकी न्याय विभागले शुक्रबारको सम्झौतामा जरिवानाबाहेक टिकटकविरुद्ध थप के कदम चालिने भन्ने विस्तृत जानकारी दिएको छैन। तर मुद्दा दायर भएयता टिकटकको स्वामित्व, गोपनीयता नीति र कम उमेरका प्रयोगकर्ताका लागि प्लेटफर्म नियन्त्रण प्रणालीमा उल्लेख्य परिवर्तन भएको विभागले जनाएको छ।
यस मुद्दामा भएको सम्झौता टिकटकको अमेरिकी व्यवसाय चीनस्थित मूल सञ्चालनबाट अलग गरिएको घटनाभन्दा अगाडिको हो। सम्झौताले भने बाइटडान्सको चीनस्थित सञ्चालनसँग सम्बन्धित टिकटकको गतिविधिलाई मात्र समेट्छ।
निजी स्वामित्वमा रहेको बाइटडान्सको पछिल्लो लगानीकर्ता मूल्यांकन करिब ५५० अर्ब अमेरिकी डलर रहेको बताइएको छ। यसअघि बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दामा गुगलको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर जरिवाना तिरेका थिए।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला