विश्व शेर्पा संघका नवनिर्वाचित अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा कुन–कुन देशका प्रतिनिधि आए कार्यसमितिमा ?

विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र एकरूपता कायम गर्ने उद्देश्यले सन् २०१७ मा स्थापित विश्व शेर्पा संघको तेस्रो कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ। पोर्चुगलका सोम फुरी शेर्पाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा नेपालसहित नौ देशका प्रतिनिधि समेटिएका छन्।

भारतको दार्जिलिङ, सोनादा र लाभामा अक्टोबर ८ देखि ११, २०२६ सम्म आयोजित विश्व शेर्पा सम्मेलन तथा संघको तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अखिल भारतीय बौद्धिष्ट शेर्पा संघको आयोजनामा सम्पन्न महाधिवेशनमा २५ देशका प्रतिनिधिको सहभागिता रहेको थियो। महाधिवेशनको अन्तिम निर्वाचन प्रक्रिया अक्टोबर १० मा लाभामा सम्पन्न भएको थियो।

अक्टोबर ११ मा गुरु छेकी गुम्बामा आयोजित समारोहमा निर्वाचन मण्डलका संयोजक तथा विश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी लामा शेर्पाले नवनिर्वाचित अध्यक्ष सोम फुरी शेर्पाको नेतृत्वमा गठित कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली सार्वजनिक गर्दै उनीहरूलाई शपथ गराउनुभएको थियो।

नयाँ कार्यसमितिमा नेपाल, भारत, अमेरिका, बेलायत, बेल्जियम, डेनमार्क, स्वीट्जरल्यान्ड, स्पेन र पोर्चुगलका प्रतिनिधि समेटिएका छन्। विभिन्न देशमा बसोबास गर्ने शेर्पा समुदायबीच संस्थागत सम्बन्ध, सहकार्य र आपसी एकतालाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो।

नवनिर्वाचित अध्यक्ष सोम फुरी शेर्पासँगै अमेरिकाका पासाङ दोर्जी शेर्पा (एपी लामा) वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई टुल्कु दावा जाङ्बु रिन्पोछेले आशीर्वाद प्रदान गर्दै सकारात्मक ऊर्जा, आपसी सद्भाव र एकताका साथ अघि बढ्न सुझाव दिनुभएको थियो।

कार्यसमितिमा भारतका निवर्तमान अध्यक्ष थेण्डुप शेर्पालाई पनि समावेश गरिएको छ। यसैगरी, विश्व शेर्पा संघमा आबद्ध विभिन्न देशका राष्ट्रिय शेर्पा संघसंस्थाका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। थप सदस्य मनोनयन हुन बाँकी रहेको जनाइएको छ।

नयाँ नेतृत्वसामु शेर्पा भाषा, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको छ। विभिन्न देशमा रहेका शेर्पा संघसंस्था तथा किदुगबीच समन्वय बढाउँदै विश्वव्यापी एकतालाई संस्थागत बनाउनु आगामी कार्यकालका प्रमुख प्राथमिकताका रूपमा रहने अपेक्षा गरिएको छ।

विश्व शेर्पा संघको नवनिर्वाचित कार्यसमिति

पदाधिकारी

१. अध्यक्ष: सोम फुरी शेर्पा — पोर्चुगल
२. निवर्तमान अध्यक्ष: थेण्डुप शेर्पा — भारत
३. वरिष्ठ उपाध्यक्ष: पासाङ दोर्जी शेर्पा (एपी लामा) — अमेरिका
४. उपाध्यक्ष: आङ गेल्मु शेर्पा — अमेरिका
५. उपाध्यक्ष: पेम्बा छोटी शेर्पा — स्पेन
६. महासचिव: रिन्जी शेर्पा लामा — बेलायत
७. सचिव: पेम्बा गेल्बु शेर्पा — बेल्जियम
८. सचिव: दावा कर्म शेर्पा — अमेरिका
९. कोषाध्यक्ष: वाङ्गेल लामा शेर्पा — डेनमार्क
१०. सहकोषाध्यक्ष: डेण्डी शेर्पा — स्वीट्जरल्यान्ड

कार्यसमिति सदस्य

११. ल्हाक्पुटी शेर्पा — नेपाल
१२. दावा शेर्पा — नेपाल
१३. निमा नुर्बु शेर्पा — नेपाल
१४. ल्हाक्पा पिनासा शेर्पा — भारत
१५. जाङ्बु शेर्पा — नेपाल
१६. निमा शेर्पा — अमेरिका (कोलोराडो)
१७. छिरिङ शेर्पा — पोर्चुगल

विश्व शेर्पा संघमा आबद्ध निम्न २५ देशका राष्ट्रिय शेर्पा संघसंस्थाका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।

१. नेपाल शेर्पा संघ
२. अखिल भारतीय बौद्धिष्ट शेर्पा संघ
३. शेर्पा संघ अमेरिका
४. शेर्पा संघ युरोप
५. शेर्पा किदुग बेल्जियम
६. शेर्पा संघ बेलायत
७. शेर्पा किदुग पोर्चुगल
८. शेर्पा संघ जापान
९. शेर्पा संघ दक्षिण कोरिया
१०. शेर्पा किदुग मलेसिया
११. शेर्पा किदुग जर्मनी
१२. शेर्पा संघ इजरायल
१३. शेर्पा किदुग साइप्रस
१४. शेर्पा समाज रोमानिया
१५. शेर्पा किदुग क्यानडा
१६. शेर्पा संघ दोहा, कतार
१७. शेर्पा किदुग हङकङ
१८. शेर्पा किदुग अस्ट्रेलिया
१९. शेर्पा किदुग डेनमार्क
२०. शेर्पा किदुग संयुक्त अरब इमिरेट्स (यूएई)
२१. शेर्पा किदुग पोल्यान्ड
२२. शेर्पा समाज न्युजिल्यान्ड
२३. शेर्पा समाज मकाउ
२४. शेर्पा संघ साउदी अरब
२५. शेर्पा किदुग स्पेन

यी संघसंस्थाका अध्यक्ष पदेन सदस्य रहने व्यवस्थाले विश्वभरका शेर्पा समुदायबीच प्रतिनिधित्व, समन्वय र सहकार्य विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट