
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो ।
गाउँपालिकाले एक वर्षको अवधिमा दुई दशमलव ७५ किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने, चार दशमलव ९५ किलोमिटर सडक ग्राभेल र १४० मिटर सडक कालोपत्र गरेको छ । ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्दै यातायात सहज बनाउन नयाँ ट्र्याक खोल्ने तथा पुराना सडकको स्तरोन्नतिलाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
सडक पूर्वाधारसँगै खोलानाला तथा नदीका कारण आवतजावतमा हुने समस्या समाधान गर्न छ वटा मोटरेबल पुल निर्माण गरिएको छ । पुल निर्माणपछि स्थानीय बासिन्दाको आवतजावत तथा कृषि उपज ओसारपसारमा सहजता आएको श्रेष्ठले बताए। गाउँपालिकाले खानेपानीको पहुँच विस्तारका लागि ८२ घरमा धारा जडान गरेको छ । घरघरमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले आवश्यक स्थानमा खानेपानीका संरचना निर्माण तथा विस्तार गरिएको श्रेष्ठको भनाइ छ । स्वास्थ्य र सरसफाइलाई समेत प्राथमिकतामा राख्दै १७ वटा शौचालय निर्माण गरिएको छ । गाउँपालिकाले आधारभूत सरसफाइको पहुँच विस्तार गर्दै स्वच्छ तथा स्वस्थ बस्ती निर्माणमा जोड दिइएको जनाएको छ ।
त्यस्तै कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न तीन सय २२ मिटर सिँचाइ कुलो र वर्षाको पानी तथा खोलाको बहाव नियन्त्रण र सिँचाइ व्यवस्थापनका लागि तीन वटा बाँध निर्माण गरिएको छ । सार्वजनिक स्थान तथा ग्रामीण बस्तीमा विश्राम र सामाजिक भेटघाटका लागि पाँच वटा चौतारा निर्माण गरिएको छ ।
कृषिमा उत्पादन र बजारीकरणमा जोड
गाउँपालिकाले स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बीउबिजन वितरण गर्नुका साथै कृषि यान्त्रिकीकरणमा समेत सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कृषकलाई हाते ट्याक्टर, कुटानी–पिसानीका उपकरण तथा विभिन्न कृषि औजार वितरण गरिएको छ । परम्परागत रूपमा श्रममा आधारित कृषि प्रणालीलाई क्रमशः यान्त्रिकीकरणतर्फ लैजाने उद्देश्यले कृषि उपकरणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि उपज उत्पादनपछि बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्समार्फत कृषकले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
कृषि उपजको उत्पादन बढेसँगै तत्काल बजार नपाउँदा हुने क्षति कम गर्न गाउँपालिकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । चिस्यान केन्द्रले विशेषगरी आलु, तरकारीलगायत छिट्टै बिग्रने कृषि उपजलाई केही समय सुरक्षित राख्न सहयोग गर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
गाउँपालिकाले पशुपालनलाई समेत कृषकको आम्दानीसँग जोड्दै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर रु दश अनुदान उपलब्ध गराउँदै आएको छ । पशु सुत्केरी भएपछि आवश्यक पोषण व्यवस्थापनका लागि सुत्केरी पशु पोषण अनुदानको व्यवस्था गरिएको छ ।
अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणसँगै कृषि र पशुपालनलाई उत्पादन तथा रोजगारीसँग जोडेर अघि बढाएको बताए । उनका अनुसार केवल भौतिक संरचना निर्माण गरेर मात्रै स्थानीयको आर्थिक अवस्था सुधार नहुने भएकाले उत्पादन बढाउने, कृषि उपजको बजारीकरण गर्ने तथा पशुपालनलाई व्यावसायिक बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।












समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?