तराई तराई–मधेशको आस्था र सूर्य उपासनाको महापर्व छठ

नेपालको तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा र उल्लासका साथ मनाइने छठ पर्व सूर्यदेव र छठी माताको आराधना गर्ने महापर्व हो । प्रकृति, शुद्धता, आत्मअनुशासन र पारिवारिक सुखसमृद्धिसँग जोडिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । पछिल्लो समय तराई–मधेशमा मात्र सीमित नरही काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा समेत छठको रौनक बढ्दै गएको छ ।

चार दिनसम्म मनाइने छठ पर्व पहिलो दिन नहाय–खाय बाट सुरु हुन्छ । यस दिन व्रतालुहरूले नदी, पोखरी वा जलाशयमा स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन दिनभरि निर्जल उपवास बसेर साँझ छठी माताको पूजा गरी खीर, रोटी तथा फलफूलसहित प्रसाद ग्रहण गरिन्छ ।

तेस्रो दिन अर्थात् सन्ध्या अघ्र्य छठको मुख्य दिन हो । यस दिन व्रतालुहरूले बाँसको डालो र सुपलीमा ठेकुवा, भुसुवा, फलफूल, नरिवललगायत पूजाका सामग्री सजाएर जलाशयमा पुग्छन् । अस्ताउँदो सूर्यलाई दूध र जल चढाउँदै अघ्र्य दिइन्छ । रातभरि छठी माताको भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा छ ।

चौथो दिन उषा अघ्र्य अर्थात् बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन गरिन्छ । त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी परिवार तथा आफन्तलाई बाँड्छन् ।

छठको अवसरमा घाट, नदी र पोखरीहरूको सरसफाइ गरी सामूहिक रूपमा पूजा गर्ने परम्पराले छठलाई वातावरण संरक्षण र सामाजिक एकताको पर्वका रूपमा समेत स्थापित गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट