
स्याङ्जा । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् ।
उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेका छन् । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलो पटक बाख्राको दूधबाट चिज उत्पादन गरेका हुन् । गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् । तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एकदिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए ।
“यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी रु दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट रु तीन लाखसम्म आम्दानी गरिरहेको छु”, उनले भने, “चिजको माग उच्च छ, पु¥याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु ।”
बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिक्नुभएको थियो । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनले व्यावसायिक उत्पादन गर्न थालेको बताए । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए ।
विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएको बताउँछन् । त्यही सोचका साथ विसं २०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो । “बाख्रा खरिद तथा खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरेको थिए । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिए हाल महिनामै सुरुको लगानी जसत आम्दानी गरिरहेको छु”, गुरुङले सुनाए ।
नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताए । “केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उहाँले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ”, उनले भने ।













समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि