नेपाल शेर्पा संघमा चुनावी सरगर्मी : निर्वाचन कि सहमति ? कसको सम्भावना कति ?

३१ जेठ, काठमाडौं । नेपाल शेर्पा संघको ७ औँ महाधिवेशन असार १ र २ गते काठमाडौँको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा हुँदैछ । कोरोना महामारीका कारण निर्धारित समयभन्दा झण्डै ३ वर्षपछि हुन लागेको महाधिवेशन प्रति शेर्पा समुदायले विशेष चासो र उत्साहका साथ हेरिरहेको छ । यसपटक शेर्पा संघको विधान परिमार्जन गर्दै मुलुकुको शासकीय प्रणाली अनुरुप ढालिएको छ । त्यसैले यसपटक वडा, पालिका र प्रदेशबाट चुनिएर आएका ४ सयभन्दा बढि प्रतिनिधि केन्द्रीय महाधिवेसनमा विशेष उत्साह र जोशका साथ सहभागि हुँदैछन् ।

शेर्पा समुदायको हकहित, अधिकार, राज्यका विभिन्न निकायहरुमा समान प्रतिनिधित्व र राजनीतिक सहभागितालाई सुनिश्चित र अपरिहार्य बनाउने उद्देश्यसहित वि.सं. २०४७ सालमा नेपाल शेर्पा संघको स्थापना भएको हो । विभिन्न जिल्लाबाट काठमाडौँमा आई विभिन्न पेशा र व्यवसायमा संलग्न अगुवा शेर्पाहरुले आवश्यकता महशुष गरी स्थापना भएको शेर्पा संघले यो लामो यात्राको क्रममा विभिन्न आरोह अवरोह पार गर्दै अहिले समुदाय केन्द्रीत देशकै प्रतिष्ठित संस्थाको इतिहास लेख्न सफल भइसकेको छ ।

चुनावी सरगर्मी, अध्यक्षका उम्मेदवारहरु र नाम फिर्ता
७ औँ महाधिवेशनकै विशेष आकर्षण हो अब बन्ने नयाँ कार्यसमिति । यसपटक देशको संघीय शासकीय व्यवस्थालाई अवलम्वन गर्दै शेर्पा संघमा पनि विधान परिमार्जन गरियो । त्यसैले पनि वडा तहदेखि सहभागि भएका प्रतिनिधिहरु आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ कार्यसमिति चुन्न लालायित देखिन्छन् । शेर्पा संघको सुरुवाती दिनदेखि नै सक्रिय भुमिकामा रहँदै आएका पूर्वमन्त्री तथा नेपाल शेर्पा संघका सल्लाहकार आङ छिरिङ शेर्पा चुनावी माहोल र अध्यक्षदेखि विभिन्न पदका लागि देखिएको आंकाक्षीहरुको जोश र उर्जाबाट निकै खुशी देखिए । शेर्पा संघको कार्यसमितिमा बसिदिन अनुनय विनय गर्नु परेको विगत स्मरण गर्छन् आङ छिरिङ । तर अहिले शेर्पा संघ ‘म हाक्छु’ भन्दै प्रतिष्पर्धामा उत्रिएकाहरु देख्दा यसलाई उनी शेर्पा समुदायमा नेत्तृत्वमा पुग्ने राजनीतिक चेतना र जिम्मेवारीमा आएको परिपक्वताको रुपमा व्याख्या गर्छन् ।

महाधिवेशनको मिति नजिकिदै जाँदा शेर्पा संघको आगामी कार्यसमितिका लागि विशेषगरी अध्यक्षका उम्मेदवारहरुको घोषणाले पनि विशेष चहलपहल बढायो । अध्यक्षको उम्मेदवारको रुपमा सबैभन्दा पहिला हिमाली कान्छाको नामले परिचित सिन्धुपाल्चोकका लाक्पा ठिले शेर्पाले आफ्नो नाम सार्वजनिक गरे । शेर्पा संघको सुरुवाती देखि नै आवद्ध उनको संघको विकास र श्रृवृद्धिमा विशेष योगदान रहँदै आएको छ । संघको नेत्तृत्व तहमा नपुगे पनि उनले अन्य विभिन्न भूमिकाबाटै संघमा उल्लेखनीय योगदान दिएका छन् । त्यसैले पनि उनको उम्मेदवारीलाई शेर्पा समुदायभित्र चासोका साथ हेरिएको छ ।

लाक्पा ठिले शेर्पापछि हालको कार्यसमितिमा उपाध्यक्ष रहेका तेन्जी शेर्पाले पनि अध्यक्षको रुपमा आफ्नो उम्मेदवारी र घोषणापत्र सार्वजनिक गरे । उनी आफुलाई स्वतन्त्र उम्मेदवारको रुपमा चिनाउन चाहन्छन्, त्यसैले पनि उनले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा आफुलाई स्वतन्त्र उम्मेदवार भनेर ‘हाइलाइट’ गरिरहेका छन् ।

५ औँ महाधिवेशनले चुनेको कार्यसमितिमा उपाध्यक्ष रहिसकेका र शेर्पा विद्यार्थी मञ्च हुँदै शेर्पा संघमा विभिन्न भूमिकामा रहि योगदान दिदै आएका आङ देण्डी शेर्पाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरे । शेर्पा संघमा प्रत्यक्ष निर्वाचन र युवा पूस्ता नेत्तृत्वमा आउनु पर्छ भन्ने लविइङ गर्दै आएका आङ देण्डीले अध्यक्षको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् । अन्य उम्मेदवारभन्दा ढिलो गरी उम्मेदवारी घोषणा गरेका उनले चुनावी माहोलमा नछिर्दै नाम फिर्ता लिएको विषयलाई समुदायले आश्चर्यजनकरुपमा हेरेको छ ।

ङवाङ सोनाम : पर्ख र हेरको स्थितिमा
अहिले एमाले निकट अध्यक्षका उम्मेदवार तथा हालका कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ङवाङ सोनाम शेर्पा र स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पा चुनावी मैदानमै छन् । दुई मध्ये तेन्जी शेर्पालाई एमाले निकट लोकतान्त्रिक शेर्पा संघले सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने ङवाङ सोनाम पर्ख र हेरको स्थितिमा छन् । यदी छैटौ महाधिवेशनमा गरिएको उनकै भाषामा ‘भद्र सहमति’ पालना भयो भने उनी अध्यक्षको जिम्मेवारी सम्हाल्ने र सहमति पालना नभई चुनाव नै हुने स्थिति आएमा आफुले तेन्जी शेर्पाका लागि उम्मेदवारी फिर्ता लिने ङवाङ सोनाम बताउँछन् । छैटौ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका ङवाङ सोनाम ७ औँ महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने सहमति पछि हालका अध्यक्ष गेल्जे लामा शेर्पालाई अध्यक्ष छोड्न सहमत भएका थिए ।

राजनीतिक झुकाव र उम्मेदवारको स्थिति !
नेपाल शेर्पा संघको ७ औँ महाधिवेशनले चुन्ने नयाँ कार्यसमितिका लागि अध्यक्षमा उम्मेदवारी दिएकाहरु विभिन्न राजनीतिक दलहरुसँग निकट पनि छन् । सबैभन्दा पाका उम्मेदवार रहेका लाक्पा ठिले नेपाली कांग्रेससँग नजिक छन् । हिमाली कान्छा अर्थात लाक्पा ठिले कांग्रेस सम्बन्ध नेपाल लोकतान्त्रिक शेर्पा संघको अध्यक्ष पनि हुन् । त्यसैगरि तेन्जी शेर्पा र ङवाङ सोनाम शेर्पाको झुकाव नेकपा एमालेतर्फ छ । अध्यक्षबाट उम्मेदवारी फिर्ता लिइसकेका आङ देण्डी शेर्पा पनि कांग्रेस निकट नै हुन् ।

हुन त शेर्पा समुदायका अगुवाहरु र उम्मेदवारहरुले संघभित्र राजनीतिक छत्रछायाँ स्वीकार्य नहुने उद्घोष गरिरहेका छन् । तर यो उद्घोष औपचारिकतामा मात्रै सिमित हुने कतिपय बताउँछन् । प्रत्यक्ष नदेखिएपनि कतै न कतै राजनीतिक दलको छायाँ संघको निर्वाचनमा पर्ने संकेत देखिन्छ । कांग्रेसमा झुकाव राख्नेहरुको मत लाक्पा ठिलेन शेर्पालाई जाने निश्चित छ । आङ देण्डी शेर्पाले उम्मेदवारी फिर्ता नलिएको भए कांग्रेस निकट मतदाताहरुको मत दुवैतर्फ बाँडिने सम्भावना थियो । तर आङ देण्डीको उम्मेदवारी फिर्तासँगै कांग्रेस निकटको मत लाक्पा ठिलेतर्फ जाने धेरै सम्भावना छ ।

त्यसो त हिमाली कान्छा नामले बढि चिनिने लाक्पा ठिले शेर्पा बलियो उम्मेदवार नै हुन् । पाको अनुभव, शेर्पा संघ तथा समुदायमा लामो योगदान र कांग्रेसतर्फ झुकाव राख्नेहरुको एकमात्र उम्मेदवार जस्ता कुराले बाँकी २ जना उम्मेदवारभन्दा लाक्पा ठिलेनको पल्ला अलि भारी देखिन्छ । त्यसो त तेन्जी शेर्पा पनि निकै आक्रामक रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् । संघमा हाल उपाध्यक्ष रहेका र संघमा भौतिक विभागको संयोजकका रुपमा देखिने गरी काम गरेका कारण पनि समुदायमा उनको राम्रै चर्चा छ । त्यसैले अध्यक्षको रुपमा तेन्जीको सम्भावनालाई पनि नकार्न सकिदैन । अध्यक्षका स्वतन्त्र उम्मेदवार तेन्जी शेर्पालाई माओवादीको शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, एमालेको लोकतान्त्रिक शेर्पा संघ, जसपाको संघीय समाजवादी शेर्पा संघ, नेसपाको शेर्पा संघ (एकीकृत) सहितका अन्य साना दलहरुले पनि समर्थन गरेका छन् । त्यसैगरि जसपा नेपाल सम्बद्ध समाजवादी शेर्पा संघले भने  लाक्पा ठिलेलाई मतदान गर्ने निर्णय गरेको छ ।

निर्वाचन कि सहमति ? अग्रजहरुको सुझाव के ?
विधान परिवर्तलाई सहजरुपमा लिएका शेर्पा समुदायका अग्रजहरु आसन्न महाधिवेशनबाटै चुनावी भिडन्तमा जानुभन्दा यो पटक सहमति र सहकार्यको अभ्यास गर्न सुझाव दिन्छन् । शेर्पा अग्रज, संघका सल्लाहकार तथा पूर्वमन्त्री आङ छिरिङ शेर्पाले पनि सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्नु पर्ने सुझाव दिए । चुनावी प्रक्रिया राम्रो लोकतान्त्रिक पद्धति भएपनि भरखरै यो अभ्यासमा शेर्पा संघ जान लागेकाले पराजित हुने उम्मेदवारले महाधिवेशनपछि संघमा अपनत्व नदेखाउने हो कि भन्ने चिन्ता आङ छिरिङलाई छ ।

त्यसो त शेर्पा संघकै पूर्वअध्यक्ष तथा पूर्वमन्त्री कृपासुर शेर्पाको आशय पनि यस्तै छ । उनी पनि सकेसम्म सहमतिबाटै नयाँ कार्यसमिति चयन गर्नु पर्ने विचार राख्छन् । विभिन्न आइडोलोजी बोकेर शेर्पा संघको महाधिवेशनमा चुनावी चहलपहल अघि बढिरहेको उनलाई निको लागेको छैन । लोकतान्त्रिक पद्धतीमा निर्वाचन सुन्दर पक्ष भएपनि अहिले नै शेर्पा संघमा प्रतिष्पर्धा र मनमुटाव गर्नुभन्दा सहमतिमै कार्यसमिति चयन गर्नु उपयुक्त हुने उनको जिकिर छ ।

शेर्पा संघका वर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा आफै पनि सहमति र सहकार्यबाटै नयाँ कार्यसमिति बनाउने प्रयासमा छन् । अघिल्लो महाधिवेशनले पनि सहमतिबाटै अध्यक्ष चुन्ने अनौपचारिक निर्णय गरेको स्मरण गर्दै आफुले सकेसम्म सहमतिबाटै नयाँ कार्यसमिति बनाउने प्रयास गरिरहेको उनले बताए । यद्यपी विधानले दिएको अधिकार प्रयोग गर्दै चुनावी मैदानबाट पछि हट्न नचाहनेलाई बाटो खुला रहेको पनि अध्यक्ष शेर्पाको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार