
काठमाडौं । नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेड ले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनका लागि महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ।
सन् २०६९ मा स्थापना भएको अमुदी फुड्सको कार्यालय काठमाडौंको कोटेश्वरमा तथा कारखाना भरतपुर–१२, चितवनमा रहेको छ। हाल कम्पनीमा ११५ जना कर्मचारी कार्यरत छन्। सार्वजनिक लिमिटेड कम्पनीका रूपमा अघि बढिरहेको अमुदी फुड्सले ‘यू एण्ड मी’ (U N Me) ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्स, दालमोठ तथा नुडल्स उत्पादन गर्दै आएको छ।
कम्पनीले उच्च गुणस्तरीय तथा स्वच्छ खाद्य उत्पादनमार्फत ग्राहकको सन्तुष्टि र दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य लिएको छ। साथै, नेपालकै विश्वसनीय र नवीन खाद्य ब्रान्डका रूपमा स्थापित हुँदै नेपाली स्वादलाई अझ फराकिलो बजारसम्म पुर्याउने कम्पनीको दीर्घकालीन दृष्टिकोण रहेको छ।
उत्पादनदेखि बजारसम्म विस्तारको तयारी
हाल ‘यू एण्ड मी’ (U N Me) ब्रान्डअन्तर्गत चिज रिङ्स, आलु क्र्याकर, पोमेस, चिज बल्स, अकबरे, फायर बल्स, बल्स, ग्रान्ड र ट्याङ्गी टोमेटोलगायतका स्न्याक्स उत्पादन हुँदै आएका छन्। यसका अतिरिक्त मिक्स्ड दालमोठ, प्लेन भुजिया, नुनिलो बदाम, एनिटाइम दालमोठ, मुंग दाल र आलु भुजियालगायतका उत्पादन पनि कम्पनीको पोर्टफोलियोमा छन्।
कम्पनीको योजनाअनुसार आगामी चरणमा समर्पित नुडल्स उत्पादन प्लान्ट स्थापना गरी उत्पादन क्षमता र उत्पादन पोर्टफोलियो विस्तार गर्ने तयारी छ। यसका लागि जग्गा तथा जग्गा विकास, भवन तथा संरचना, मेसिनरी तथा उपकरण र कार्यशील पूँजीमा लगानी गर्ने योजना अघि सारिएको छ।
बढ्दो कारोबार र दीर्घकालीन वित्तीय लक्ष्य
कम्पनीले प्रस्तुत गरेको वित्तीय प्रक्षेपणमा आगामी वर्षहरूमा बिक्री तथा नाफा विस्तार गर्ने लक्ष्य देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा करिब रु ८.४१ करोडको बिक्री आम्दानीबाट आर्थिक वर्ष २०८६/८७ सम्म रु ६८.४१ करोड बिक्री आम्दानी पुर्याउने प्रक्षेपण गरिएको छ। सो अवधिमा खुद नाफा पनि रु २८.८ लाखबाट रु ५.३२ करोड पुर्याउने लक्ष्य राखिएको छ।
यद्यपि, आर्थिक वर्ष २०८३/८४ को वित्तीय विवरणमा समावेश रु १४ करोडको जग्गा बिक्रीबाट प्राप्त एकपटकको आम्दानीका कारण उक्त वर्षको प्रति सेयर आम्दानी (इपीएस) असामान्य रूपमा उच्च देखिएको कम्पनीले नै स्पष्ट पारेको छ। नियमित व्यवसायबाट हुने आम्दानी र एकपटकको आम्दानीलाई छुट्टाछुट्टै हेर्नु कम्पनीको वास्तविक व्यावसायिक प्रगति बुझ्न महत्वपूर्ण हुनेछ।
आइपीओमार्फत सार्वजनिक सहभागितातर्फ
अमुदी फुड्सले पूँजी संरचनालाई थप बलियो बनाउँदै सार्वजनिक लगानीकर्तालाई सहभागी गराउने तयारी पनि अघि बढाएको छ। कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी रु ४२ करोड रहने र त्यसमा प्रवर्द्धक समूहको रु ३२ करोड तथा सर्वसाधारणका लागि रु १० करोड बराबरको शेयर रहने योजना छ।
प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओ प्रक्रियाका लागि ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरिसकिएको, केयर रेटिङ नेपाल सँग रेटिङ ( rating) सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ। नयाँ नुडल्स प्लान्ट, उत्पादन विविधीकरण तथा प्रस्तावित आइपीओले कम्पनीको आगामी चरणलाई थप विस्तारको अवसर दिने आधार तयार गर्न सक्नेछ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम