किन युट्युवर बने सलमान खान ?

बलिउडमा स्टार बन्ने सपना देख्ने हजारौँ कलाकारको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सलमान खान डिजिटल दुनियाँमा नयाँ इनिङ सुरु गर्दैछन् । एक्सन, रोमान्स र टेलिभिजन रियालिटी शोमार्फत दशकौँदेखि दर्शकमाझ लोकप्रिय रहेका सलमानले आफ्नै युट्युब च्यानल खोलेपछि उनको यो कदमलाई चासोका साथ हेरिएको छ । करोडौँ प्रशंसक भएका सलमानलाई युट्युबमा आउनुपर्ने आवश्यकता किन प¥यो भन्ने चासो देखिएको छ । बिइङ सलमान खान नामको आधिकारिक च्यानल सार्वजनिक गर्दै उनले अक्टोबर ९ मा इन्स्टाग्राम स्टोरीबाट दर्शकलाई त्यहाँ जोडिन आह्वान गरे ।

तर यो सुरुआत परम्परागत सेलिब्रेटी च्यानलजस्तो दैनिक जीवनका दृश्य, फिल्मको प्रचार वा पर्दापछाडिका गतिविधिमा मात्र केन्द्रित हुने देखिएको छैन । च्यानलका प्रारम्भिक भिडिओमा सलमान आफैँले बनाएको स्टार छविलाई हास्यको विषय बनाउँदै प्रस्तुत भएका छन् । कतै उनी अभिनय सिकाउने प्रशिक्षकको भूमिकामा देखिन्छन् त कतै अभिनय सिक्न पुगेका विद्यार्थीका रूपमा । आफ्नै हाउभाउ, शरीरको चाल र संवाद बोल्ने शैलीलाई सिकाउने र सिक्ने दुवै पात्र बनेर प्रस्तुत गर्नु उनको नयाँ शैली हो । सलमानको पहिचान बनाएका विशेषता नै यतिबेला यो युट्युव च्यानलको मुख्य कन्टेन्टको आधार बनेका छन् ।

उनका फिल्मका संवाद, आत्मविश्वासी प्रस्तुति र विशिष्ट शारीरिक हाउभाउ दर्शकले वर्षौँदेखि चिन्दै आएका छन् । त्यही परिचित छविलाई छोटा, हास्यपूर्ण भिडिओमा उतार्दा पुराना प्रशंसकले आफूले चिनेको सलमान भेट्छन् भने नयाँ पुस्ताले छोटो भिडिओमार्फत उनलाई चिन्ने अवसर पनि पाउँछन् । अक्टोबर ११ सम्म च्यानलमा करिब ७२ हजारभन्दा बढि सब्सक्राइबर भइसकेका छन् । सुरुआती चरणमा १० वटा छोटा भिडिओ राखिएको थियो ।

बालबालिकाका लागि मनोरञ्जनसँगै शिक्षाको योजना

च्यानलको उद्देश्यबारे सलमानले अक्टोबर १० मा दिएको स्पष्टीकरणले उनले किन युट्ृयुव च्यालन बनाए भन्ने खुलेको छ । उनले यो सामग्री वयस्क दर्शकका लागि तत्काल लक्षित नभएको भन्दै बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको बताएका छन् । उनका अनुसार रमाइलो, प्रेम र पारिवारिक भावनासँगै बालबालिकाका लागि शिक्षा पनि उत्तिकै आवश्यक छ ।

यसले सलमानको डिजिटल यात्रामा नयाँ सम्भावना खोलेको छ । बालबालिकाले रुचाउने सामग्री निर्माण गर्न सके उनको च्यानल फिल्मका प्रशंसकमा मात्रै सीमित हुने छैनन् । परिवारसँगै हेर्न मिल्ने मनोरञ्जन र सिकाइका सामग्रीमार्फत् सलमान व्यापक दर्शक समूहसम्म पुग्न सक्नेछन् । ।

स्टारडमको परीक्षामा सलमान

पछिल्लो समय बलिउडका कलाकारका लागि युट्युब फिल्मको प्रचार गर्ने माध्यमसँगै दर्शकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने स्वतन्त्र प्लेटफर्म पनि बनेको छ । धेरै बलिउड कलाकार यसअघि नै युट्युवमा सक्रिय छन् । तर सलमानको प्रवेशलाई चासोका साथ हेरिनुको कारण उनको लामो फिल्मी यात्रा र विशाल प्रशंसक समूह भन्दा उनले रोजेको कनटेनटको शैली हो ।

परम्परागत स्टार छविबाट बाहिर निस्केर आफैँलाई हास्यपूर्ण रूपमा प्रस्तुत गर्दै उनले बालबालिकालाई लक्षित नयाँ प्रयोगको रुपमा कन्टेन्टको योजना बनाएका छन् । फिल्ममा आफ्नो स्टारडम प्रमाणित गरिसकेका भाइजानका ठूलो पर्दाको लोकप्रियतालाई मोबाइलको सानो स्क्रिनका लागि युट्युवमा पनि आफुलाई स्थापित गर्नु पर्ने अर्को चुनौति बनेको थपिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर