
बर्दिया । यहाँको बढैयाताल गाउँपालिका–७, बोकटिया गाउँमा अवस्थित चार सय वर्ष पुरानो शिवालय मन्दिर ओझेलमा परेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मन्दिर संरक्षण र प्रचारप्रसारका लागि पहल नहुँदा ओझेलमा परेको हो । मन्दिरभित्रका भित्तामा पालि भाषामा लेखिएका अक्षर छन् । पुरातत्व विभागका अनुसार मन्दिर र परिसरमा रहेको साँढेको प्रतिमा करिब चार सय वर्ष पुरानो छ । यति पुरानो मन्दिर भए पनि संरक्षण गर्न नसक्दा यहाँका पुरातात्विक महत्वका सामग्री हराउँदै छन् । करिब २०–२२ वर्षअघि मन्दिरभित्र रहेको शिव, पार्वती र गणेश भगवान्को मूर्ति हराइसकेको छ । साँढेको मूर्ति भने बाँकी नै छ ।
समाजसेवी तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कबिराम थारूको पहलमा विसं २०७९ मा मन्दिर त पुनःनिर्माण गरिएको छ तर त्यसको प्रचार नहुँदा पर्यटकीय गतिविधिमा धेरै सुधार हुनसकेको छैन । प्रदेश सरकारको एक करोड रुपैयाँको लगानीमा यहाँ धार्मिक पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यसहित पुरानै शैलीमा मन्दिर पुनःनिर्माण गरिएको हो । करिब तीन कट्ठा क्षेत्रफलमा रहेको यो क्षेत्रमा करिब ६१ फिट अग्लो मन्दिर छ ।
पुनःनिर्माणपछि मन्दिरभित्र नयाँ शिवलिङ्गसहित शिव, पार्वती र गणेशका मूर्तिहरू स्थापना गरिएका छन् । मन्दिर अगाडि रहेको ऐतिहासिक साँढे (स्थानीय भाषा मार्बद) को मूर्ति भने जस्ताको तस्तै सुरक्षित गरिएको छ । बोकटिया गाउँका ज्येष्ठ नागरिक ८२ वर्षीय शंकर थारुका अनुसार करिब सात दशकअघि मन्दिर निकै आकर्षक र धार्मिक आस्थाको केन्द्र थियो । मन्दिरभित्र हातले कुँदिएका विभिन्न प्राचीन मूर्ति थिए । त्यो हेर्न आन्तरिक धार्मिक पर्यटकको लाम लाग्थ्यो । उनले भने, ‘२० वर्षअघि मात्र यहाँ शिव, पार्वती, गणेश र साँढेको मूर्ति थिए । शिवरात्रिमा एक हप्ता भजनकिर्तन, पूजापाठ र भण्डारा चल्थ्यो । कुनै समय सन्तान प्राप्तिको कामना गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वाससहित भक्तजनको घुइँचो लाग्थ्यो । हाल त्यस्तो अवस्था छैन ।’
ज्येष्ठ नागरिक थारुका अनुसार मन्दिरसँगै इनार थियो, त्यहाँ चार वटा मूलबाट पानी आउँथ्यो र पानी कहिल्यै सुक्दैनथ्यो । स्थानीय बड्घर ठग्गु थारूका अनुसार एक सय ६० भन्दा धेरै घरधुरी रहेको थारुबस्तीको मझगाउँमा रहेको मन्दिर परिसरको सो ऐतिहासिक इनार संरक्षणको अभावमा जीर्ण अवस्थामा छ । मन्दिर र इनारको संरक्षण गर्दै धार्मिक कार्यक्रम पुनः सञ्चालन र प्रचारप्रसार गर्न उनको आग्रह छ । मन्दिर क्षेत्रको उचित संरक्षण र प्रबर्द्धन गरिएमा यहाँ आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको विकास भई स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने यहाँका अगुवाहरूको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू